images
images
images

तुलसी घिमिरे निर्देशित ‘पहाड’को छायाङ्कन सुरू

काठमाडौँ, २२ माघ – निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’को मुहुर्त गर्दै आजदेखि छायाङ्कन सुरू गरिएको छ। आज विहान गोर्खा दरबारमा पुजा गरेपछि मुहुर्त सट अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले दिएकी थिइन्।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको फिल्मको लेखन निर्देशक घिमिरेले नै गरेका हुन्। निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई फिल्ममार्फत दर्शकसमक्ष पुर्‍याउन लगिएको बताए।

उनले भने,’मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ। फिल्मको विषय अनुसार हामीले कलाकार चयन गरेका छौँ। नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु।’

उनले आफूले राम्रो टिम पाएको र सेटमा फर्किदा छुटै उत्साह महसुस गरेको बताए। ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहेका छन्। भारतमा फिल्म, वेब सिरिज र टेलीफिल्मसमेत छायांकन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन्।

उनी तीस वर्षपछि नेपाली फिल्म छायाङ्कनका लागि नेपालमा आएका हुन्। फिल्मको छायाङ्कन गोर्खा आसपासमा २५ दिन र भारतमा १५ दिन हुने छ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनिल थापालगायतका कलाकारले अभिनय गर्दैछन्। यसमा रञ्जित गजमेर सङ्गीत निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन्। रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।

यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले ‘पहाड’ निर्देशन गरेका हुन् ।