पालुङटारमा चितुवाको माउ र बच्चा मृत अवस्थामा फेला

गोरखा, २३ माघ – गोरखाको पालुङटार नगरपालिका वडा नम्वर १० स्थित माथिल्लो खड्का गाउँमा मंगलबार मृत अवस्थामा चितुवाको माउ र बच्चा फेला परेको छ । करिव डेढ–दुई बर्षको पोथी चितुवा र बच्चा स्थानीय किसानको बारीमा मृत अबस्थामा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।

‘माउसँगै दुईवटा पोथी बच्चाहरु पनि फेला परेका छन्, जसमध्य एउटा मृत अवस्थामा फेला परेको छ भने अर्को बच्चा जीवितै छ’, उनले भने, ‘बच्चाचाहिँ सायद माउले चेपेर मृत्यु भएको हुनसक्छ, माउ चितुवाको मृत्युको कारण भने हालसम्म खुलेको छैन् ।’

बच्चाहरु करिब दुई महिनाको हुनसक्ने उनले जानकारी दिए । हाल मृत चितुवाको माउबच्चालाई डिभिजन वन कार्यालय गोरखामा ल्याइएको उनले बताएका छन् ।