च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने

काठमाडौँ, २३ माघ – ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमास्थित च्यासल खेल मैदान गत असोजमा आएको बाढीले बगरमा परिणत भएको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल रु दुई करोड आवश्यक हुने बताएका छन् ।
च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन रु दुई करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले बताए । उनले भने,‘बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ ।’

च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९  वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन् । मैदान मर्मतमा अखिल नेपाल फुटबल सङ्घलगायत सरकोकार भएकाहरु मौन रहेकामा उनी दुःखी छन् । खेलकुद परिषद्सँग रु १० लाख माग गरेका  तर हालसम्म निर्णय नभएको उनको कथन छ ।