![](https://laltinkhabar.com/wp-content/uploads/2025/02/202502051742-ed23e1f6-e112-4d92-84a1-772a602488e6_medium-1568x1004.jpg)
काठमाडौँ, २३ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेस दु्रतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या तथा समाधानका उपायबारे आज जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितामा आयोजनाबारे छलफल भएको हो ।
छलफलमा नेपाली सेनाका तर्फबाट आयोजनाको सुरु बिन्दु खोकनामा जग्गा अधिग्रहणका लागि लामो समयदेखिको समस्या, आयोजना क्षेत्रमा पर्ने रुख कटानमा ढिलाइ आदिबारे अवगत गराइएको थियो । प्रधानमन्त्री ओलीले सोच विचार गरेरै नेपाली सेनालाई आयोजनाको जिम्मेवारी दिइएकाले गुणस्तरीय काम हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्बन्धित मन्त्रालयले खोकना क्षेत्रको समस्या समाधानको प्रस्ताव ल्याउन उहाँले आग्रह गर्नुभयो । उक्त द्रुतमार्ग कूल ७० दशमलव ९७ किलोमिटर रहेको छ । रु दुई खर्ब ११ अर्ब ९३ करोड लागतको सो सडक आयोजना विसं २०७४ मा सुरु भएको हो । आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ३७ दशमलव ६ र वित्तीय प्रगति ३९ दशमलव ७४ रहेको जङ्गी अड्डाले जनाएको छ । रासस