काठमाडौँ, २३ माघ – नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामग्रीको प्रदर्शनी आयोजनाका लागि विभिन्न संस्थासँग सहकार्य गर्ने गरी सम्झौता गरेको छ ।
चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्ट्स एशोसिएसनसँग सहकार्यका लागि सम्झौता गरेको हो ।
नेपाल स्पोर्ट्स कन्क्लेभ २०२५, नेपाल दोस्रो स्पोर्ट्स एण्ड फिटनेस एक्स्पो २०२५ एवं पाँचौं स्पोर्ट्स च्याम्पियनसिप एण्ड एक्सोका लागि सहकार्यको सम्झौता गरिएको चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतामा नेपाल चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिका सभापति रुपक राजवंशी, नेपाल स्पोर्ट्स एण्ड फिटनेश इन्ट्रस्ट्रिका अध्यक्ष सुरज डंगोल, यस्तै नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य निरन्जन राजवंशी र माईस इन्टरनेशनलका निर्देशक दिपक थापाले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा सहभागी थिए ।
चेम्बर अफ कमर्स र खेलकुदका विभिन्न निकायबीच भएको सम्झौताले नेपालमा खेल क्षेत्रको विकास, अवसरहरुको सिर्जना एवं नीतिगत तवरमा सहकार्य हुने विश्वास गरिएको छ । चेम्बरसँग गरिएको सम्झौतापछि सरोकारवाला सबै निकायलाई एकीकृत गरी खेलकुद क्षेत्रको विकास गर्न रणनीतिक साझेदारीमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।