images
images

सुपर माछा खोला हाइड्रोमा वाणिज्य बैङ्कले साढे ६७ करोड लगानी गर्ने

काठमाडौं – गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने भएको छ । बिहीबार यहाँ आयोजित कार्यक्रममा बूढीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कुल रु ९६ करोड ३८ लाख ३० हजार लागन अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुने कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरेले जानकारी दिए । प्रवद्र्धक कम्पनीका अनुसार वाणिज्य बैङ्कले रु ६७ करोड ४६ लाख ८० हजार लगानी गर्नेछ । बाँकी रु २८ करोड ९१ लख ५० हजार स्वपूँजी लगानी हुनेछ ।

Agreement RBB1.jpg

करिब १८ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाबाट वार्षिक २७ दशमलव ३७९ गिगावट आवर विद्युत् उत्पादन हुनेछ । वर्षायाममा १८ दशमलव ६२१ गिगावट आवर र हिउँदमा ८ दशमलव ७५ गिगावाट आवर बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच गत असार २१ गते विद्युत् खरिदबिक्री सम्झौता भएको थियो । आयोजनाबाट उत्पादित विद्युत् विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सवस्टेसनमा जोडिने छ । आयोजनाले चाँडै नै सर्वसाधारणमा शेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ ।

ऋण लगानी सम्झौता पश्चात कम्पनीका अध्यक्ष न्यौपानेले नेपालको विकासका लागि जलविद्युत् क्षेत्रमा लगानी बढाएर लैजानुपर्ने आवश्यकता बोध गरी आयोजना निर्माण गर्न लागिएको बताए । उनले लगानीकर्ताका लागि डुब्न नदिने र समयमै पर्याप्त प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे ।

वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत खनालले निजी क्षेत्रले ऊर्जा क्षेत्रमा फड्को मार्नुपर्नेमा जोड दिँदै रावा बैङ्कले सुरुआतदेखि नै जलविद्युत् क्षेत्रमा लगानी गर्दै आइरहेको स्पष्ट पारे । उनले वित्तीय अनुसशासनमा रहेर निर्धारित अवधिमा आयोजना सम्पन्न गर्न कम्पनी सफल हुने विश्वास व्यक्त गरे ।

Devendra Raman Khanal CEO RBB.jpg

सो अवसरमा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मुलुकमा लागनीमैत्री वातावरण बनाउन, स्वदेशी लगानीकर्तालाई उत्साही बनाउन आफ्नो तर्फबाट सधैँ सहयोग रहने विश्वास दिलाए ।

आयोजना समयमै सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको प्रबन्ध निर्देशक कृष्ण घिमिरेले बताए । ‘आयोजनाले त्यहाँ सडक पूर्वाधारदेखि पर्यटन प्रवद्र्धनसम्म सहयोग पु¥याउनेछ,’ उनले भने, ‘कम्पनीले छिट्टै सेयर पनि जारी गर्नेछ ।’

कम्पनी अध्यक्ष न्यौपाने, प्रबन्ध निर्देशक कृष्ण घिमिरे र निर्देशक सरोज धिताललगायतको समूहले आयोजना निर्माण गर्न लागेको हो ।

जलविद्युत् क्षेत्रमा अनुभव हासिल गरिसकेको सो समूहले ४ दशमलव ५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । यसैवर्ष थप २२ मेगावाट क्षमताको जल्दीगाढ जलविद्युत् आयोजना निर्माण गर्ने कम्पनीले जनाएको छ ।