नेपाल-भारत विकास सहकार्य अन्तर्गत खनियाबासमा स्वास्थ्य चौकी भवनको शिलान्यास

काठमाडौं – -धादिङ जिल्लाको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवन निर्माणको शिलान्यास गरिएको छ। संविधान सभा सदस्य दिलमान पाख्रिन, खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौंस्थित भारतीय राजदूतावासकी काउन्सिलर गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा भवन शिलान्यास गर्नुभएको हो।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत पर्दछ। करिब रु. २.५१ करोडको लागतमा निर्माण हुने यस परियोजनामा स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेनागृह, बाटो लगायतका अन्य आवश्यक संरचनाहरू निर्माण गरिनेछ।

शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र सामाजिक कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै संविधान सभा सदस्य तथा गाउँपालिकाका प्रमुखहरूले नेपालका जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याएको योगदानको सराहना गरे। साथै, सो स्वास्थ्य चौकी भवन निर्माणले स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरियो।

भारत सरकारले सन् २००३ यता नेपालभर ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ, जसमा ४९० वटा परियोजना पूरा भइसकेका छन्। बागमती प्रदेशमा मात्र १०८ परियोजनाहरू सञ्चालनमा रहेका छन्। साथै, भारत सरकारले नेपालका अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थाहरुलाई १००९ एम्बुलेन्स तथा ३०० विद्यालय बस प्रदान गरिसकेको छ, जसअन्तर्गत धादिङका विभिन्न संस्थाहरूलाई १५ एम्बुलेन्स र ३ विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको छ।

भारत-नेपाल सम्बन्ध सुदृढ गर्दै लगिने उद्देश्यले उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू निरन्तर अघि बढ्ने भारतीय राजदूतावासले जनाएको छ। नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकासमा सहयोग गर्दै आइरहेको भारत सरकार आगामी दिनहरूमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।