images
images

माधव नेपालको आरोप- ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन् ।

शनिवार पार्टीको काठमाडौंमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै त्यसको बिरोध पनि गरे ।

उनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पद चाहिएकाले दुई कम्युनिष्ट पार्टीहरू मिलेर बनएको सरकार ढालेर काँग्रेससँग मिलेर सरकार बनाएको बताए।

उनले प्रधानमन्त्री पद चाहिएको भए आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्षसँग बार्गेनिङ गरेको अवस्थामा पाउने स्थिति रहेको बताए। उनले प्रधानमन्त्री ओलीलाई दुनियाँ ठग्नको लागि प्रधानमन्त्री बनेको टिप्पणी गरे।

प्रधानमन्त्री ओली देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने कुरामा केन्द्रित भएको आरोप लगाए ।

उनले नेपालमा दुई वटा ठूला पार्टीको मात्रै उपस्थिति हुनुपर्ने कुरामा सरकार केन्द्रित भएको र त्यसको प्रतिरोध गर्न आफूहरू तयार रहेको बताए। संख्याको मात नदेखाउन पनि प्रधानमन्त्री ओलीलाई उनले चेतावनी दिए।

उनले भने, ‘यसले हाम्रो देशको भविष्यलाई बढो संकटग्रस्त बनाएर जाने सम्भावना छ । उहाँहरुले अहिले नयाँ भाष्य ल्याएको छ । नेपालमा दुई वटा ठूला पार्टीको मात्रै उपस्थिति हुनुपर्छ । भन्नुको मतलव दुई दलीय व्यवस्था नेपालमा स्थापित गर्नुपर्छ । बहुदलीय व्यवस्था होइन । त्यसो भए उहाँहरूको एजेण्डा संविधान संशोधन गरेर बहुदलीय होइन, दुई दलीय शासन प्रणाली स्थापित गर्ने कुरा राख्नुभएको छ कि । हामी त्यो पर्खिएर बसिरहेका छौँ । उहाँहरु त्यो घोषणा गर्न गइरहनुभएको छ भने आउनुस् आउनुस्, सामना हामी गर्दछौँ । संख्याको मात लागेको छ भने हाम्रो छिमेकी देशहरूको घटना हेर्नुस्, सम्झनुस् । संख्याले मात्रै केही गर्दैन, संख्याको मात लाग्यो भने त्यसको दुरुपयोग गर्नुभयो भने त्यसको प्रतिकार गर्न जनता उभिन्छन् ।’नेपालले एमालेसँग एकता गर्ने कुनै सम्भावना नरहेको बताए।

माओवादीसँग पनि धेरै कुरामा मतभिन्नता रहेकोले मिल्ने सम्भावना नरहेको जिकिर उनले जिकिर गरे । नेता वामदेव गौतम र डा. भीम रावललाई स्वागत गर्न आफूहरु तयार रहेको नेपालको भनाइ थियो।