जनकपुर साहित्य महोत्सव : मधेसको राजनीति र सामाजिक संरचनाबारे गहन मन्थन

धनुषा, २७ माघ – छैटौँ जनकपुर साहित्य महोत्सवअन्तर्गत शनिबारको विशेषसत्र ‘मधेसको मत’ले मधेसको राजनीति, जनचेतना र बदलिँदो सामाजिक संरचनाबारे गहन गन्थनमन्थन गरियो ।

सांसदहरु मनिष सुमन, योगेश भट्टराई र डा अमरेशकुमार सिंहले उक्त सत्रमा आफ्ना विचार व्यक्त गरेका थिए । तीनैजनाले मधेसको वर्तमान राजनीतिक अवस्थादेखि सामाजिक संरचनासम्मका विविध पक्षबारे उजागर गरे । सांसद सुमनले मधेसी जनतामा विद्यमान असन्तोष, राजनीतिक व्यवस्थाप्रतिको भरोसाको कमी र विकेन्द्रीकरणको क्रममा देखिएका अवरोधबारे विश्लेषण प्रस्तुत गर्दै भन्नुभयो, “मधेसमा अहिलेको सबैभन्दा ठूलो चुनौती राजनीतिक रूपमा सम्पूर्ण जनसमुदायलाई आवद्ध गर्नसक्ने नेतृत्वको अभाव हो । सङ्घीयता लागू हुँदा मधेसी समुदायको आकाङ्क्षा पूरा हुने विश्वास थियो । तर, वर्तमान अवस्था हेर्दा ती आकाङ्क्षा अझै परिपूर्ण भइसकेका छैनन् ।”

यस्तै सांसद भट्टराईले मधेसको बदलिँदो सामाजिक संरचनालाई विश्लेषण गर्दै समावेशिता, लैङ्गिक समानता र समुदायबीचको समन्वयमा केन्द्रित रहँदै भन्नुभयो, “मधेसमा सामाजिक रूपान्तरणका लागि भएको आन्दोलनले ठूला उपलब्धिहरू हासिल गरे पनि सामाजिकस्तरमा समानता र समावेशीताको पूर्णतः कार्यान्वयन हुनसकेको छैन । विशेषगरी लैङ्गिक समानता र सामाजिक न्यायको क्षेत्रमा अझै धेरै चुनौती छन् ।”

सांसद डा सिंहले मधेसको विकासमा शिक्षा र स्वास्थ्यको भूमिका उजागर गर्दै यस क्षेत्रमा आवश्यक सुधार र नीतिगत परिवर्तनबारे आफ्ना विचार राख्नुभयो । उहाँले भन्नुभयो, “मधेसको आर्थिक विकासका लागि शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएको अव्यवस्थित अवस्था सबैभन्दा ठूलो अवरोध बनेको छ । स्वस्थ र शिक्षित जनशक्तिबिना हामी समृद्ध मधेसको परिकल्पना गर्न सक्दैनौँ ।” सत्रका सहजकर्ता पत्रकार टीकाराम यात्रीले विशेष सत्रको समापन गर्दै वक्ताका विचारलाई समेट्दै मधेसको सामाजिक संरचना, राजनीति र समग्र विकासलाई सम्बोधन गर्दै महत्त्वपूर्ण निष्कर्ष प्रस्तुत गर्नुभएको थियो ।

उत्सवमा समाजशास्त्री तथा मिथिला संस्कृतिका विशेषज्ञ डा सुवोधचन्द्र भारतीले सीता : बियाहक संस्कार आ परम्पराके समृद्ध साझा धरोहरक प्रतिरुप’ मा गहन र विचारोत्तेजक प्रस्तुति दिनुभएको थियो । भारतीले मिथिला संस्कृतिमा सीताको विवाह र त्यसको अनन्तकालीन सांस्कृतिक महत्वबारे विस्तृत चर्चा गर्दै सीताको विवाहलाई मिथिला र आर्यसभ्यताको साझा सांस्कृतिक धरोहरका रूपमा व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो, “सीताको विवाह केवल एउटा व्यक्तिगत र धार्मिक घटनामात्र थिएन, यो सम्पूर्ण समाजको समृद्ध सांस्कृतिक परम्परा र मान्यताको प्रतिविम्ब थियो ।

सीताजस्तो आदर्श व्यक्तित्वको विवाहले नारी सशक्तीकरणको अवधारणालाई पनि बलियो बनाएको छ ।” साहित्य महोत्सवमा ‘उज्यालोको यात्रा’ विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले लोडसेडिङको समस्या कसरी समाधान गरेको भन्ने विषयमा आफ्नो अनुभव सुनाउनुभयो । सहजकर्ता कुन्दन झाले सञ्चालन गरेको उक्त सत्रमा कार्यकारी निर्देशक घिसिङले नेपालका विद्युत् क्षेत्रका प्रगति, चुनौती र सम्भावनाबारे चर्चा गर्नुभयो । महोत्सवमा ‘राज्यको दृष्टिमा मधेस’ शीर्षकमा भएको छलफलमा सांसद सन्तोष परियारले मधेसी समुदायको समस्या र सङ्घर्ष नयाँ नभएको बताउनुभयो । उहाँले इतिहासका विभिन्न कालखण्डमा मधेसलाई राज्यले उपेक्षित गरेको बताउनुभयो । राज्यले मधेसलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नआएकामा सांसद परियारले चिन्ता व्यक्त गर्नुभयो ।

‘आन्दोलन र साहित्य’ सत्रका प्रमुख वक्ता प्रगतिशील साहित्यकार खगेन्द्र सङ्ग्रौलाले नेपाली साहित्य र आन्दोलनको अद्वितीय सम्बन्धको उजागर गर्दै साहित्य कुनै पनि समाजको गहिरो परिवर्तनको माध्यम मात्र नभई विद्रोहको एक सबल औजार पनि रहेको बताउनुभयो । उहाँले नेपाली राजनीतिक आन्दोलन र साहित्यको आपसी सम्बन्धबारे चर्चा गर्दै साहित्यले समाजलाई मात्र नभई चेतनालाई पनि क्रान्तिकारी दिशामा मोड्ने गरेको बताउनुभयो । उहाँले साहित्य र राजनीतिलाई केवल दुई अलग विधामात्र नभएर समाज परिवर्तनका लागि परस्पर पूरक तत्वका रूपमा व्याख्या गर्नुभयो ।

‘समाज, साहित्य र सिनेमा तीन ‘स’को अन्तरसम्बन्ध’ शीर्षकअन्तर्गत साहित्य र सिनेमाको आपसी सम्बन्ध, प्रभाव र अन्तरक्रियाका विषयमा चर्चा गरिएको थियो । कवि विप्लव प्रतीक, अभिनेत्री केकी अधिकारी र अभिनेता तथा लेखक विजय बराल सहभागी उक्त सत्रको सहजकर्ता पूर्णेन्दुकुमार झा रहनुभएको थियो । कवि प्रतीकले समाज र साहित्यको आपसी सम्बन्धका बारेमा आफ्नो दृष्टिकोण राख्दै भन्नुभयो, “साहित्य भनेको समाजको ऐना हो । समाजमा भइरहेका घटना, प्रवृत्ति र विकृतिलाई साहित्यले आवाज दिन्छ । हामीले साहित्यमार्फत समाजलाई विश्लेषण गर्नेमात्र होइन, समाजलाई मार्गदर्शन गर्ने प्रयास गर्छौँ ।”

अभिनेत्री अधिकारीले साहित्य र चलचित्रबीचको अन्तरसम्बन्धलाई उजागर गर्नुभयो । उहाँले भन्नुभयो, “ चलचित्र भनेको साहित्यको एउटा दृश्यात्मक रूप हो । साहित्यले जुन भावना, विचार र सन्देशलाई व्यक्त गर्छ । चलचित्र त्यसलाई दृश्य र ध्वनिको माध्यमबाट व्यक्त गर्छ । तर, साहित्यको जस्तो गहिराई प्राप्त गर्न चलचित्रमा अझै धेरै चुनौतीपूर्ण छ । यद्यपि, अहिलेको समयमा धेरै सिनेमा साहित्यमा आधारित हुँदै बनेका छन् । यसले दर्शकलाई गहिरो गरी सोच्न बाध्य पार्छ ।”

अभिनेता तथा लेखक बरालले चलचित्र र समाजको गहिरो सम्बन्धको बारेमा चर्चा गर्दै भन्नुभयो, “चलचित्र भनेको समाजको एउटा चौंकाउने साधन हो । यसको बलियो पक्ष भनेको यो दृश्यमा आधारित हुन्छ र यसले तत्काल व्यक्तिको भावनामा परिवर्तन ल्याउन सक्छ । चलचित्र एक शक्तिशाली माध्यम हो । यसले समाजको सामुन्ने धेरै जटिल मुद्दालाई सजिलोसँग राख्न सक्छ ।” सहजकर्ता झाले समापनमा उक्त सत्रको निष्कर्ष निकाल्दै भन्नुभयो, “समाज, साहित्य र चलचित्र एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् । यी तीनै माध्यमले एकअर्कालाई प्रभावित गर्छन् र समाजमा ठूलो प्रभाव पार्छन् । साहित्यले समाजलाई बदल्न सक्ने क्षमता राख्छ भने चलचित्रले समाजलाई सशक्त बनाउन सक्छ ।” रासस