चलचित्र विकास बोर्डद्वारा बनेपामा सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं, २७ माघ – चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार, निर्माणका लागि इच्छुक कम्पनीले आगामी ३० दिनभित्र ई–बिडिङमार्फत आवेदन दिन सक्नेछन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यो स्टुडियो नेपालकै सबैभन्दा ठूलोआकारको इनडोर सुटिङ स्टुडियो हुने दाबी गरेका छन् । निजी क्षेत्रसँग केही स्टुडियो भए पनि यसअघि चलचित्र क्षेत्रसँग आफ्नो स्टुडियो भने थिएन ।

यो परियोजनाले स्वदेशी चलचित्र उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढंगको सुटिङस्थल प्रदान गर्नेछ ।
बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयन चरणमा जान सकेको थिएन । स्टुडियोको शिलान्यास दुई महिनाभित्र नै गर्ने योजना रहेको बोर्डले प्रेस नोटमा उल्लेख छ ।

स्टुडियो निर्माणपछि स्वदेशी चलचित्रका निर्माता तथा निर्देशकलाई आधुनिक सुटिङ प्रविधि र सुविधासहितको वातावरण उपलब्ध हुनेछ । स्टुडियो निर्माणपछि नेपाली चलचित्र उद्योगलाई गुणस्तरीय सुटिङ वातावरण प्रदान गर्ने विश्वास गरिएको छ ।

suchana-1739074245.JPG