प्रचण्डको सचिवालयमा टिमकाे हेरफेर , बाहिरिए मल्ल

काठमाडौं, २८ माघ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा हेरफेर गरिएको छ । हालै सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा गरिएको निर्णयअनुसार सचिवालयमा फेरबदल गरिएको हो ।

निर्णयअनुसार सचिवालयमा रहेका रमेश मल्ललाई विशेष प्रदेशको सह-इञ्चार्जको जिम्मेवारी दिइएको छ । उनको स्थानमा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई ल्याइएको छ । यसअघि प्रधानमन्त्री हुँदा प्रचण्डको प्रेस सल्लाहकारका रूपमा काम गरेका आचार्यलाई सचिवालय प्रमुखको जिम्मेवारी दिइएको हो ।

माओवादीका पूर्व सांसद तथा प्रचण्डको सुरक्षा टोलीमा रहेका पूर्वजनमुक्ति सेना सन्तु दरैलाई पनि सचिवालयमा समेटिएको छ । सचिवालयमा दाहालकी छोरी तथा माओवादी केन्द्रकी केन्द्रीय सदस्य गंगा दाहालको भूमिका यथावत् छ ।

जनयुद्धकालदेखि माओवादी नेतृत्वसँग नजिक रहेका विश्वदीप पाण्डे पनि सचिवालयमा स्थान पाएका छन् । लामो समय डा. बाबुराम भट्टराईसँग रहेर काम गरेका पाण्डे पछिल्लो समय माओवादी केन्द्रमा फर्किएका थिए । यसबाहेक, प्रधानमन्त्री हुँदा सचिवालयमा काम गरेका गोकर्ण भट्टलाई पुनः सचिवालयमा समावेश गरिएको छ ।