images
images

मिटर ब्याज सम्वन्धि बिधेयक आजै पास गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक केही बेरमा बस्दैछ ।

आज १ बजे बस्ने भनिएको बैठक केहीबेर ढीला भएको छ । आजको बैठकले मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तय गरेको छ । प्रतिनिधिसभाको बैठक अघि संसद भवन नयाँ वानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तय गरेको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि मिटरब्याजविरुद्धको विधेयक पारित गर्न सहयोग गर्ने भएको छ ।

कार्यसूची अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस्, भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । दफावार छलफलपछि विधेयकमाथि परेका संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि कानुनमन्त्री गुरुङले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

कानुनमन्त्री गुरुङले ५ असारमा राष्ट्रिय सभामा यो दर्ता गर्नुभएको थियो । राष्ट्रिय सभाले १५ असारमा दफावार छलफल गरी सोही दिन पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । कतिपयले भने नेताहरु नै मिटरब्याजमा संलग्न भएकाले बिधेयक पास गर्न ढिलाई भएको आरोप लगाउँदै आएका छन् ।