खेलकुदमन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि, भने: नियोजित षड्यन्त्र !

काठमाडौं, २९ माघ – नेपाल स्काउटको नियमावलीमा पुरानो शब्दावली ‘श्री ५ को सरकार’ लेखिएको कागजात प्रमाणीकरण गरेको विषयमा विवादमा तानिएका युवा तथा खेलकुदमन्त्री तेजु लाल चौधरीले तत्काल त्रुटि सच्याएका छन्।

तर, यस प्रकरणलाई उनले नियोजित षड्यन्त्रको संज्ञा दिँदै स्काउटका प्रमुख आयुक्त महेन्द्र राज रञ्जितमाथि आरोप लगाएका छन्।

नेपाल स्काउटको कर्मचारी सेवा नियमावली २०५२ संशोधन गर्दा ‘नेपाल सरकार’ लेखिनुपर्ने स्थानमा पुरानो व्यवस्था ‘श्री ५ को सरकार’ लेखिएको कागजात प्रमाणीकरण भएपछि मन्त्री चौधरी आलोचनाको घेरामा परे।

चौधरीले नेपाल स्काउटलाई पत्र लेख्दै, २०८१ सालको स्काउट राष्ट्रिय परिषद्को कात्तिक १० गतेको बैठकबाट संशोधित नियमावलीमा भएका टाइप त्रुटिहरू सच्याइएको जानकारी गराए। संविधानअनुसार ‘नेपाल सरकार’ शब्दावली प्रयोग हुनुपर्ने भएकाले उक्त गल्ती सच्याएर प्रमाणीकरण गरिसकेको उनले बताए।

तर, चौधरीले यो विवाद अनायासै नभई सुनियोजित रूपमा उचालिएको आरोप लगाए। उनले नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्र राज रञ्जितमाथि आफूविरुद्ध षड्यन्त्र गरेको दाबी गरे।

‘महेन्द्रजीले नै बैठकको माइन्युट र अनुसूची ल्याएर मलाई हस्ताक्षर गराएका थिए। त्रुटि भएको कुरा थाहा पाएपछि सच्याउनु पर्नेमा उल्टै मेरो चरित्र हत्या गर्न खोजिएको छ,’ चौधरी आक्रोशित देखिए।

उनका अनुसार स्काउटभित्र पछिल्लो समय देखिएको विवाद प्रमुख आयुक्त रञ्जितकै असक्षमताका कारण उत्पन्न भएको हो। उनले यस्तो विवादले नेपाल स्काउटको गरिमा प्रभावित हुन नदिन सबै पक्ष सचेत रहनुपर्ने बताए।