![](https://laltinkhabar.com/wp-content/uploads/2025/02/202502111641-d12139e6-7f65-451c-82d4-08054d8dd048_medium.jpg)
लुम्बिनी, २९ माघ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले भवन अनुगमन गर्दै आज कामको प्रगतिबारे जानकारी लिनुभयो ।
“यो प्रदेशको गौरवको आयोजना हो । प्रदेशले यसलाई उच्च प्राथमिकतामा राखेको छ, यसले समग्र प्रदेशको विकासमा महत्वपूर्ण योगदान पु-याउनेछ”, उहाँले भन्नुभयो, “कुनै पनि अवस्थामा काममा समस्या नआओस् ।” प्रदेश सरकारले चालु आर्थिक वर्षमा सो भवन निर्माण गर्न रु एक अर्ब ८० करोड विनियोजन गरेको छ ।
अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले काम सन्तोषजनक देखिएको बताउनुभयो । उहाँले यही आवमा २८ प्रतिशतसम्म काम सम्पन्न गर्ने जानकारी प्राप्त भएको बताउनुभयो । प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत रु छ अर्ब १८ करोड ७५ लाखमा भवन निर्माण थालिएको थियो ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगसनसँग गतवर्षको पुस २६ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । निर्माण सुरु भएको पाँच महिनामा १३ प्रतिशत भौतिक प्रगति भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका ‘साइट इन्चार्ज इन्जिनियर’ शङ्कर सुवेदीले जानकारी दिनुभयो ।
सम्झौताअनुसार १२ तले सो भवन आगामी २०८५ सालको पुस मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने छ । रासस