images
images
images

शक्तिशाली राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारे : पर्यटनमन्त्री पाण्डे

काठमाडौं,  १ फाल्गुन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरुले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रकृतिको दोहन गरेर शक्ति राष्ट्रहरुले पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका हुन्। उनले प्रकृतिको दोहनका कारण पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशको सन्तुलन बिग्रिएको बताए।

कर्णाली नदीलाई एउटा महत्वपूर्ण सम्भावना बोकेको नदीको रूपमा अगाडि सार्न सकिने पनि बताए। मन्त्री पाण्डेले कर्णाली नदीको शाखा नदीहरुबाट मात्रै सात हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने भएकाले कर्णाली नदीले महत्वपूर्ण सम्भावना बोकेको बताए।

अहिले नदीको अतिक्रमण गर्नु हुँदैन भन्ने छलफल सुरु भएको भन्दै उहाँले यसलाई गम्भीरताका साथ अगाडि लैजानुपर्ने बताए।

उनले भने, ‘कर्णाली नदीलाई एउटा महत्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा यसलाई अगाडि सार्न सकिन्छ, यसका शाखा नदीहरुबाट मात्रै विद्युत उत्पादन पनि सात हजार मेगावाटभन्दा बढी उत्पादन सम्भव छ भने मूल नदीलाई हामीले किन अतिक्रमण गर्ने, दोहान वा खण्डित गर्ने भन्ने एउटा छलफल शुरु भएको छ। यो छलफललाई हामीले गम्भीरताका साथ अगाडि लिएर जानुपर्छ भन्ने लाग्छ मलाई, अहिले संसारभरी नै चलेको बहस भनेकै त्यही हो। शक्तिशाली राष्ट्रहरुले प्रकृतिको विभिन्न किसिमले दोहन गरेर त्यसबाट पृथ्वीको सन्तुलन नै पृथ्वीको जल, तेज, वायु, आकाशको जुन पञ्चतत्वको सन्तुलन छ त्यो सन्तुलनमै समस्याहरु खडा भएको छ।’

मन्त्री पाण्डेले शक्ति राष्ट्रहरुलाई पृथ्वी जोगाउनुस् भन्ने अभियानसहित दबाब र सुझावको वातावरण निर्माणमा एकताबद्ध प्रयास गर्नसके प्रतिफल प्राप्त गर्न सकिने बताए।