![](https://laltinkhabar.com/wp-content/uploads/2025/02/476995873_1785231352330965_7454436620762947204_n.jpg)
एजेन्सी – उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटनामा हुँदा १० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । बोलेरो र बस एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटना शनिबार बिहान राति करिब २ बजे प्रयागराज–मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा भएको हो । प्रहरीका अनुसार छत्तीसगढको कोरबा जिल्लाका भक्तजनहरू संगममा स्नान गर्न आउँदै थिए । यसै क्रममा दुर्घटना भएको थियो ।
घटनाको जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेको थियो । घाइतेहरूलाई तत्काल उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ । गम्भीर घाइतेहरूलाई जिल्ला अस्पताल पठाइएको छ । घटनाको जानकारी लिँदै मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन् ।
तीव्र गतिमा रहेको बोलेरो बससँग ठोक्किएको थियो । मृत्यु हुने सबै श्रद्धालुहरू बोलेरोमा यात्रा गरिरहेका थिए । स्थानीय र बटुवाहरूले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले मृतकको शव पोस्टमार्टमको लागि पठाएको छ । घटनाको कारणको बारेमा अनुसन्धान सुरु गरिएको उत्तरप्रदेश सरकारले जानकारी दिएको छ ।