images
images

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छः प्रधानमन्त्री

काठमाडौँ, ४ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजना समयमा सम्पन्न गर्ने विषयमा आफू गम्भीर र संवेदनशील रहेको बताउनुभएको हो ।

“मेरो नेतृत्वमा सरकार गठन भएपछि यी आयोजनाहरू समयमै सम्पन्न गर्न तथा निर्माण व्यवसायीको भुक्तानीको समस्या समाधान गर्न मैले सुरुदेखि नै पहल गरिरहेको छु”, उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा भुक्तानी गर्न बाँकी दायित्वमध्ये हालसम्म रु २२ अर्ब ४३ करोड ३६ लाख भुक्तानी भइसकेको छ ।”

प्रधानमन्त्रीका अनुसार राष्ट्रिय परियोजनाका लागि स्रोतको समस्या आउन नदिन सम्बन्धित मन्त्रालयलाई बजेट तर्जुमाका लागि प्रदान गरिएको बजेट ‘सिलिङ’बाट त्यस्ता आयोजनाका लागि सो आर्थिक वर्षमा आवश्यक पर्ने रकम विनियोजन गरी ‘इयरमार्क’ गरेपछि मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट छुट्याउने गरी नीतिगत प्रबन्ध गरिएको छ ।

प्रधानमन्त्रीले नयाँ बहुवर्षीय आयोजनाका लागि स्रोत सुनिश्चित गर्दा विस्तृत आयोजना प्रतिवेदन ‘इन्जिनियरिङ डिजाइन’ स्वीकृत, वातावरणीय मूल्याङ्कनसम्बन्धी परीक्षण सम्पन्न, जग्गा प्राप्तिको प्रक्रिया टुङ्गिएको, ‘साइट क्लियरेन्स’, मध्यकालीन खर्च संरचनामा समावेश तथा खरिद गुरुयोजना तथा कार्यान्वयन योजना स्वीकृत भएको आयोजनाको कार्यान्वयन आवश्यक र औचित्यपूर्ण देखिएमा स्रोतको उपलब्धताका आधारमा मात्र स्रोत सहमति दिने कानुनी व्यवस्था गरिएको जानकारी दिनुभयो । रासस