images
images

सांसदले के सोधे ? प्रधानमन्त्रीले के जवाफ दिए ? (प्रश्न र जवाफसहित)

काठमाडौँ — प्रधानमन्त्री केपी शर्माको वाकपटुता आज पनि संसदमा झल्कियो । एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले प्रधानमन्त्री ओलीलाई सोधे, तपाईंले तामझामका साथ शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरू बजेटको अभावमा अलपत्र र अधुरा छन् । पालिका अस्पतालहरू कतिका जगमात्र बसेका छन्, कतिका पिलरमात्र अस्थिपञ्जरजस्तै उभिएका छन् । रणनीतिक सडकहरू र पालिका अस्पतालहरूको लागि बजेटको व्यवस्था गरेर काम सम्पन्न गर्ने योजना के छ ?

प्रश्नको उत्तर दिदै ओलीले आफूले अघि बढाएका कामहरु सुरु गर्ने बित्तिकै आफू सरकारबाट बाहिरिएको पृष्ठभूमी बताउँदै उल्टै प्रकाश ज्वालालाई प्रश्न गरे, म हटेपछि बनेको सरकारमा तपाई नै भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ । प्रधानमन्त्रीले भने, कार्यक्रमहरू रद्द गर्नेले नै फेरि त्यसको प्रगति खोज्ने हामीमा अनौठो संस्कार छ । सांसद ज्वालाले अघिल्लो सरकारको बेलामा ब्रेक थ्रु भएको नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ल्याउन सरकार किन उदासिन छ भनेर पनि सोधेका थिए । यो प्रश्नको उत्तर दिदै प्रधानमन्त्री ओलीले नागढुङ्गा सुरुङ मार्गमा २०८२ कार्तिकमा सक्ने लक्ष्य रहेकोमा हालसम्म ८५ प्रतिशत प्रगतीसहित अत्यावश्यक पर्ने काम भइरहको बताए । उनले राप्ती लोकमार्गमा ६० करोड बराबरको स्रोत सुनिश्चित गरी निर्माण कार्य अगाडी बढेको र कर्णाली राजमार्गको जीर्णखण्डहरूमा मर्मत कार्यहरू भैरहेको बताए ।

एमाले सांसद प्रतिक्षा तिवारीले चुरे दोहनका कारण मधेश प्रदेशमा खानेपानीका मुहान सुक्नुका साथै वातावरण प्रदूषणको समस्या बढ्दो भएको र यसैका कारण मानव जीवनमा गम्भीर समस्या पैदा भएको छ भन्दै प्रश्न गरेकी थिइन् । जवाफमा प्रधानमन्त्री ओलीले चुरेको भू-बनोट, माटोको प्रकृति, जैविक विविधतामा ह्रास र छोटो समयमा सघन वर्षा आदि कारणले यो क्षेत्र अति संवेदनशील भएको बताउँदै चुरे क्षेत्र र तराई मधेशमा देखिएको पानीको समस्या समाधानका लागि शुरुवाती चरणबाटै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत पानीका स्रोतको संरक्षणका विभिन्न कार्यक्रहरू सञ्चालन हुँदै आइरहेको बताए । प्रधानमन्त्रीले हालसम्म ६ सय ५७ वटा भूमिगत जल पुनर्भरण, पोखरी निर्माण तथा संरक्षण, १ सय ५९ वटा तालतलैया तथा सिमसार व्यवस्थापन, १ सय ७६ वटा रेन वाटर हार्भेस्टिङ ड्याम ७६ वटा जल पुनर्भरण एवं संरक्षण पोखरी निर्माण, ५ सय ४८ वटा पानी मुहान संरक्षण तथा कुवा उत्खनन् लगायतका कार्य सम्पन्‍न गरिएको बताउँदै चुरेको संरक्षण गरी वातावरण संरक्षणमा सरकारले उच्च प्राथमिकता दिएको बताए ।

काग्रेस सांसद प्रतिमा गौतमले विकास निर्माणमा योजनाहरू समयमा सम्पन्न नहुने गम्भीर समस्या रहेको भन्दै एउटा आयोजना सम्पन्न हुन औषतमा करिब १५ वर्ष लाग्ने अवस्था रहेको तर्क गरेकी थिइन् । उनले ठूला आयोजनालाई बहुवर्षीय बनाउने र न्यून बजेट छुट्टयाएर होल्ड गर्न प्रवृत्तिले स्रोत सुनिश्चितता नहुनु र भुक्तानी प्रक्रियामा ढिलाइ हुनुले यस्ता परियोजनाहरू समयमै सम्पन्न नहुनुको प्रमुख कारण रहेको बताउँदै यस्ता समस्याले राष्ट्रिय विकासको गति अवरुद्ध भएको बताएकी थिइन् । उनले सोधेकी थिइन, ठूला राष्ट्रिय परियोजनाहरू दशकसम्म अधुरै रहने समस्यालाई समाधान गर्न र आयोजना समयमा नै सम्पन्न गर्नको लागि सरकारले बजेट व्यवस्थापन स्रोत सुनिश्चितता र भुक्तानी प्रक्रियामा सुधार गर्न के कस्ता प्रयास गरिरहेको छ ?

What did the MP ask, what did the Prime Minister answer?

उत्तरमा प्रधानमन्त्री ओलीले आयोजनाहरू समयमै सम्पन्‍न गर्न तथा निर्माण व्यवसायीको भुक्तानीको समस्या समाधान गर्न आफुले सुरु देखि नै पहल गरिरहेको बताउँदै आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा भुक्तानी गर्न बाँकी रहेको दायित्वमध्ये हालसम्म रु. २२ अर्ब ४३ करोड ३६ लाख भुक्तानी भईसकेको बताए । उनले ठूला राष्ट्रिय परियोजनाको लागि स्रोतको समस्या आउन नदिन सम्बन्धित मन्त्रालयलाई बजेट तर्जुमाको लागि प्रदान गरिएको बजेट सिलिङबाट त्यस्ता आयोजनाका लागि सो आर्थिक वर्षमा आवश्यक पर्ने रकम विनियोजन गरी इयरमार्क गरेपछि मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट छुट्ट्याउने गरी नीतिगत प्रबन्ध गरिएको पनि बताए ।

माओवादी नेता वर्षमान पुनले अर्थतन्त्रमा शिथिलता आएको भन्दै जनताको चुल्हो महंगीको मारमा पुगेको र पुँजीगत खर्च नभइरहेको बताउँदै समग्र अर्थतन्त्र सुधार गर्न सरकारको नीति र प्राथमिकताहरू के-के छन् भनेर सोधेका थिए । उनले अध्यादलेशको प्रसंग निकालेर दुई तिहाई बहुमतको दाबी गर्ने सत्तापक्षले संसद्‍मा बहुमत गुमाइसकेको हो र भन्ने प्रश्न सोध्दै कि प्रधानमन्त्रीले संसदको गरिमालाई होच्याउने नियतले त्यस्ता कुरा गर्नुभएको हो भनेर पनि सोधे ।
प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्रबारे चिन्ता गर्नु भएकोमा यसअघिका अर्थमन्त्री समेत रहनु भएका प्रश्नकर्ता माननीयलाई धन्यवाद भन्दै व्यङग्य कसेर भने, ‘७ महिना अगाडि तपाईं आफैं अर्थमन्त्री हुनुहुन्थ्यो ?’ उनले त्यस समय भन्दा अगाडि र त्यसयताको मूल्य वृद्धिको अनुपात हेर्न अनुरोध गर्दै हामीले अब आँकडामा प्रश्नोत्तर गर्ने, त्यसको तुलना गर्ने बानी बसाल्नु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले उल्टै प्रश्न सोध्दै भने, ‘पूँजीगत खर्च भइरहेको छैन । हो, हाम्रो पूँजीगत खर्च कम छ। तर माननीयज्यू अर्थमन्त्री भएको अवधिको तुलनामा भने बढी छ। यसै अवधिको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको पूँजीगत खर्च १५ प्रतिशतले बृद्धि भएको छ।’
प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा सुस्तता एकै दिनमा नआएको बताउँदै सुस्तता पनि एकै दिनमा नहट्ने बताए । उनले सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीर रुपमा काम गरिरहेको र सुधारका केही नतिजाहरू पनि देखिएका दाबी गरे ।
प्रधानमन्त्रीले अध्यादेशको प्रसंग सहितको प्रश्नको उत्तर दिन पनि कस्सिए । उनले भने, ‘अध्यादेश ल्याएर संसद्लाई किन होच्याएको भन्ने माननीयज्यूको प्रश्नको मैले जवाफ दिइरहनु पर्दैन, किनभने म सम्माननीय सभामुख मार्फत २०८० वैशाख २० गतेको दिन सम्झन उहाँलाई आग्रह गर्दछु। त्यस दिन उहाँ आफैं सम्मिलित सरकारले संसद् सुरु हुनु भन्दा चार दिन अघि अध्यादेश ल्याएको थियो। अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा। तर आवश्यक पर्दा सरकारले अध्यादेश ल्याउन सक्ने व्यवस्था संविधानले नै गरेको छ ।’ प्रधानमन्त्रीले नागरिकलाई सेवा प्रवाहमा छरितोपन ल्याउन, लगानीको वातावरण बनाउन र अर्थतन्त्रका समस्या हटाएर सुधार तर्फ लैजान अध्यादेश ल्याउनु परेको तर्क गरे ।

एमाले सांसद प्रभु हजाराले प्रधानमन्त्रीलाई विरगञ्जको नारायणी अस्पतालमा ५०० शैयाको अस्पताल निर्माण गर्न रु. १ अर्ब ५५ करोडको विनियोजन गरी टेण्डर प्रकृया अगाडी बढेको अवस्थामा ठेकेदार र भवन विभागको विचको विवादले सर्वोच्च अदालतमा मुद्दा चलिरहेको बिषय उठाएका थिए । उनले यो अस्पताल निर्माणको काम कहिलसम्म रोकिने हो भनेर सोधेका थिए । जवाफमा ओलीले अदालतमा मुद्दा परेकोले केहि समय निर्माण कार्यमा ढिलाई भएको भन्दै अदालतको फैसला पश्चात निर्माण कार्य अगाडि बढाउन आगामी आर्थिक वर्षमा कार्यक्रम तथा बजेट व्यवस्था गरीने बताए ।

सांसद प्रेम बहादुर आलेले सुदुरपश्चिम प्रदेशको धनगढी-खुटिया-दिपायल-बझाङ चैनपुर हुँदै उरै भञ्ज्याङ्ग सडक दक्षिणमा भारतसँग जोडिएको एक बहुआयामिक सडक आयोजनाबारे सोधेका थिए । उनले यो सडक निर्माणमा अहिले १ अर्बको वहुवर्षीय योजनाको लागि स्रोत सुनिश्चितता भै ठेक्काको चरणमा भएको तर यो बजेट सडक निर्माण पूरा गर्न अति न्यून भएका बताउँदै आउदो बजेटमा सडक निर्माणलाई तीव्रताका साथ सम्पन्न गर्न रु.२ अर्ब बजेट विनियोजन गर्नु पर्ने आवश्यकता रहेको बताएका थिए । जवाफमा ओलीले यसको निर्माण र स्तरोन्नति सरकारको प्राथमिकतामा रहेको बताउँदै सरकारले हालै स्रोत सुनिश्चितता प्रदान गरेकोले आयोजनाको केही दिनमा नै ठेक्का प्रक्रिया शुरु हुने बताए ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सरकारले समाजवादलाई व्यवहारमा कार्यान्वयन गर्न के कस्तो काम गर्दैछ भन्ने प्रश्न गर्दै सार्वजनिक संस्थानहरू एक एक गरी व्यक्ति वा निजी कम्पनीलाई बेच्नु समाजवाद नै हो र भनेर सोधेका थिए । जवाफमा ओलीले समाजवाद सम्बन्धी प्रश्नका विषयमा नेपालको संविधानको प्रस्तावनामै रहेको बताएका थिए । सार्वजिनक संस्थानको बिषयमा भने प्रधानमन्त्री ओलीले सार्वजनिक संस्थान सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी बनाउन विगतमा केही सार्वजनिक संस्थानहरूको निजीकरण गरिएको भन्दै सार्वजनिक संस्थान निजी व्यक्ति वा कम्पनीलाई बिक्रि गर्ने उद्धेश्यले निजीकरण नगरिएको बताएका थिए ।

सांसद प्रभु शाहले नेपाली नागरिकता त्यागेर विदेशी हुनेहरूको संख्या कति छ भन्दै उनीहरूको पैत्रिक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ भन्ने प्रश्न सोधेका थिए । उनले ती अबैध सम्पत्तिहरूलाई राज्यको जिम्मामा ल्याउन तपाईले के के गर्नुभयो भन्दै प्रधानमन्त्रीलाई सोधेका थिए । उनले खुलेआम अवैध बाटोबाट ती अवैध सम्पत्तिहरू विदेश लैजादा रोक्न नसक्ने तपाईलाई हामीले सक्षम भन्ने कि असक्षम प्रधानमन्त्रीज्यू भन्दै सोधेका थिए । यसका अलवा सासंद शाहले प्रधानमन्त्रीलाई भारत भ्रमणमा जाँदैछु भन्नुभएको थियो, त्यो जादैछु भनेको कहिले हो भनेर पनि सोधेका थिए । उनले निम्तो नै नआइकन किन जान्छु भन्नुभयो भन्दै त्सले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन भनेर सोधेका थिए ।

सासंद शाहका प्रश्न सुनेर ओली आक्रोशित देखिएका थिए । उनले प्रश्नको जवाफ नै दिन आवश्यक नरहेको भन्दै शाहका प्रश्नले उनको मनमा रहेका विरोध, घृणा, आक्रोश आदिले अपमानजन समेत रहेको बताउँदै भने, ‘ संसद जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि तपाईंलाई के लाभ भयो ?’ स्रोत -कान्तिपुर