काठमाडाैं, ४ फागुन – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७१ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले विभिन्न निकायमा कार्यरतसहित ३९ जना नवनियुक्त उपसचिवहरूलाई व्यवस्थापन तथा फेरबदल गरेको हो। उपसचिवहरूको सरुवा तथा पदस्थापन विभिन्न मन्त्रालय, विभाग, कार्यालय तथा अन्य निकायहरूमा गरिएको छ।
मन्त्रालयले नवनियुक्त ३९ जना उपसचिवहरूलाई स्थानीय तहमा पदस्थापन गरेको छ । साथै, सोही मिलान प्रक्रिया अन्तर्गत थप ३२ जना उपसचिवहरूको सरुवा गरिएको छ।
पछिल्लो समय अधिकतर उपसचिवहरू केन्द्र र सुविधा सम्पन्न स्थानहरू रोज्ने प्रवृत्तिका कारण धेरै स्थानीय तहहरू रिक्त रहँदै आएका थिए वा निमित्त प्रमुखकै भरमा सञ्चालन हुँदै आएका थिए। तर, यस पटक मन्त्रालयले स्थानीय तहहरूलाई पूर्णता दिने र प्रशासनिक व्यवस्थापनलाई सबल बनाउने लक्ष्यसहित पदस्थापन गरेको छ।
यसलाई समग्र सुधारको संकेतका रूपमा हेरिएको छ, जसले संघीय शासन व्यवस्थालाई थप प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।
















