काठमाडौँ – गृहमन्त्री रमेश लेखकले अहिलेको संविधानलाई असफल हुन दिने छुट नभएको बताएका छन्।
बिहीबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको आठौं राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले संविधानलाई असफल हुन दिन नहुने बताएका हुन्।
उनले भने, ‘यो संविधानलाई असफल हुन दिने र गर्ने हामीलाई छुट छैन। संविधान चलायमान जीवन्त दस्तावेज हो। जसरी समाज परिवर्तन हुन्छ, त्यसैअनुसार समायोजना गर्न संविधानलाई परिमार्जन गरिन्छ। यदि संविधानलाई संशोधन नै गर्न नमिल्ने धार्मिक ग्रन्थका रुपमा लयौँ भने त्यो संविधान असफलतिर जान सक्छ। त्यसैले हामीले संविधान संशोधन भनेको हो।’
नेपालमा ७० वर्षमा धेरै संविधान बनेको भन्दै उनले धेरै संविधान बन्नु भनेको नेपाल कति अस्थिर राजनीतिबाट गुज्रियो भन्ने कुराको प्रमाण भएको टिप्पणी गरे।
उनले भने, ‘७० वर्षमा ७ वटा संविधान बनाएका छौँ। बढी पुल, बैंक, विश्वविद्यालय बनाउने कुरा राम्रो कुरा हो। तर, बढी संविधान बनाउने कुरा खराब कुरा हो। बढी संविधान हुनुको अर्थ के हो भने हामी यो ७० वर्षमा कति ज्यादा अस्थिर राजनीतिबाट गुज्रियौँ भन्ने कुराको प्रमाण हो।’
संविधान लागु भएको १० वर्ष भइसकेकोले सवल र दुर्बल पक्ष पहिचान गर्दै परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो।
उनले भने,’संविधान लागु भएको १० वर्ष भएको छ। संविधानको अभ्यासमा यसका सवल पक्ष र यसका दुर्बल पक्ष के–के रहे। त्यसको पहिचान गर्ने, पहिचान गरिसकेपछि संवधिानको कहाँकाहाँनिर परिमार्जन गर्ने ती कुराहरुलाई परिमार्जन गर्ने।’
संविधान संशोधनका लागि सबै राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति बनाएर अगाडि बढ्ने उनको भनाइ थियो। त्यसका लागि कार्यदल बनाउन कांग्रेस र एमालेबीच सहमति भइसकेको उनले बताए।
’


लाल्टिन खबर 





