images
images
images

युरोपेली हेलिकप्टर र विमान आयातमा प्रतिबन्धको तयारी

काठमाडौं, ९ फागुन – नागरिक उड्डयन प्राधिकरणले युरोपमा बनेको एयरबस र हेलिकप्टरको क्षमतामा प्रश्न उठाएको छ । प्राधिकरणले युरोपियन युनियन (ईयू) देशमा बनेका एयरबस जहाज र हेलिकप्टरको दुर्घटना दर उच्च पाइएको भन्दै नेपालमा आयात तथा सञ्चालनमा रोक लगाउने तयारी गरेको छ ।

ईयूले विगत १२ वर्षदेखि नेपाली आकाशलाई कालोसूचीमा राखिरहेको अवस्थामा प्राधिकरणले त्यसको विरोधमा एयरबसका जहाज र हेलिकप्टर आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । नेपालमा भएका हेलिकोप्टर दुर्घटनामध्ये सबैभन्दा बढी एयरबस कम्पनीका रहेको पाइएकाले तत्कालका लागि आयातमा प्रतिबन्ध लगाउने तयारी भएको प्राधिकरणको भनाइ छ ।

अध्ययन समितिले धेरै दुर्घटना हुनेमा एयरबसका जहाज र हेलिकप्टर भएको निष्कर्ष निकाल्दै यसमा प्रतिबन्ध लगाउन सुझाव दिएको छ । युरोपियन कम्पनीका जहाज धेरै दुर्घटना हुने र उल्टै नेपाललाई कालोसूची थोपरिरहने भएपछि प्राधिकरणले युरोपियन उड्डयन व्यवसायलाई रोक लगाउन लागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार नेपालमा एयरबसका हेलिकप्टर धेरै संख्यामा भए पनि दुर्घटना उच्च हुँदा सेफ्टीका लागि प्राविधिक सहायता उपलब्ध हुने गरेको छैन । उनले भने, ‘पछिल्लो समय १२ वटा हेलिकप्टर कम्पनीमध्ये अधिकांशले एयरबसकै उत्पादन प्रयोग गरिरहेका छन् । हालसम्म भएका १ सय १० हवाई दुर्घटनामा ४१ वटा हेलिकप्टर छन् । त्यसैले सुरक्षित वायुयान कम्पनीको अध्ययन गरेर आयातमा जोड दिने तयारी छ ।’

नेपाली कम्पनीहरुले एयरबसकै हेलिकप्टर र एटिआर विमान ल्याउँदै आएका छन् । एयरबस कम्पनीबाट आएको विमानकै कारण हवाई दुर्घटना बढेको ठहर गर्दै प्राधिकरणले आयातमा रोक लगाउने तयारी गरेको सूचना अधिकारी भूलको भनाइ छ । उनले भने, ‘सुरक्षित कम्पनीको उत्पादनलाई प्रोत्साहन गर्न प्राधिकरण लागिरहेको छ । यसबाट अन्य कम्पनीले पनि अवसर पाउने र एयरबसको एकाधिकार तोडिने छ ।’

युरोपियन कम्पनीकै उत्पादनले नेपालमा हवाई सेवा दिइरहेको तर ईयूले नै नेपाललाई कालोसूचीमा राख्दै आएकोमा प्राधिकरणले असन्तुष्टि जनाउँदै आएको छ । ईयूले डिसेम्बर २०१३ मा २७ राष्ट्रको समूहमा नेपाली वायुयानलाई उडान गर्न प्रतिबन्ध लगाएर कालोसूचीमा राखेको थियो । ईयूले हवाई सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै नेपाललाई गम्भीर सुरक्षा चासो सूचीबाट हालसम्म हटाएको छैन । सन् २००९ देखि नै ईयूले एकै निकायले सेवा र नियमन गर्दा स्वार्थ बाझिने भएकाले गर्दा नियमन गर्ने र सेवा प्रदान गर्ने निकाय छुट्याएर काम गर्ने सुझाउँदै आएको भए पनि हालसम्म यो कामले मूर्त रुप पाउन सकेको छैन ।

प्राधिकरणले नेपालमा युरोपियन कम्पनीकै हेलिकप्टरले बढी उडान भर्दै आएको र दुर्घटना धेरै भएको हुँदा सुधारका लागि प्राविधिक रुपमा विस्तृत अध्ययनसमेत नगरेको आरोप एयरबसमाथि लगाएको छ । ईयूका कम्पनीहरुले निर्माण गरेका विमानको धेरै दुर्घटना भएको प्राधिकरणको भनाइ छ ।