images
images

‘नो केबलकार’ समूहको आन्दोलन उग्र बन्न थालेपछि फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं ।-ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार बनाउन नहुने मागसहित आन्दोलनरत ‘नो केबलकार’ समूहको आन्दोलन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको शनिबार मध्यरातिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा निषेधाज्ञा जारी गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडपले प्रतिकूल स्थिति सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति देखिएपछि निषेधाज्ञा जारी गर्नुपरेको उनले बताए।

उनले भने ‘यो निषेधाज्ञा आइतबार बिहान ५ बजेबाट अर्को आदेश नभएसम्मका लागि कायम हुनेछ ।’

प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ । नो केबलकार समूहले शनिबार साँझ फुङलिङको वीरेन्द्र चोकमा मसाल जुलुस निकालेर राँको निजी घरमा फ्याँक्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो ।