images
images

शहरी क्षेत्रमा आपराधिक घटना बढ्दै

काठमाडौं । पछिल्लो समय शहरी क्षेत्रमा आपराधिक घटना बढ्दै गएका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा विभिन्न आपराधिक घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी काठमाडौंले सोमबार आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेर विभिन्न आपराधिक घटना बढ्दो क्रममा रहेको जनाएको छ ।

प्रहरीको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार ९ सय ७७ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७९/०८० मा १३ हजार ४ सय ६४ मुद्दा दर्ता भएका छन् । पछिल्लो समय बैंकिङ कसुर सम्बन्धी घटनाका मुद्दा दर्ता हुने क्रम बढेको प्रहरीको भनाइ छ ।

प्रहरीले आर्थिक वर्ष २०७९/०८० मा प्राप्त २ हजार १ सय ६२ उजुरीमध्ये ६ सय ४१ को मात्रै फर्छ्यौट भएको जनाएको छ । अनलाइन प्रविधिबाट देखा परेका आर्थिक अपराधहरू पनि पछिल्लो समय बढ्दै गएको प्रहरीको भनाइ छ ।

काठमाडौंमा देखिएका अपराध न्यूनिकरण गर्न दक्ष र प्रविधियुक्त जनशक्ति विस्तार गरी अनुसन्धानलाई प्रभावकारी बनाउने प्रहरीको भनाइ छ । प्रमुख कार्कीले नाकामा प्रविधियुक्त प्रणाली जडान गरी अपराध नियन्त्रणतर्फ ध्यान दिने बताउनुभयो ।