काठमाडौँ, १५ फागुन – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको बताएका छन् ।
उनले राम्रो काम गर्दा सहयोग गर्नुपर्नेमा उल्टै पटकपटक स्पष्टिकरण सोधेर दुःख र हैरानी दिएकोमा असन्तुष्टि जनाएका छन् । आफूमाथि जसरी पनि कारवाही गर्ने नियतले विदा स्वीकृतिलगायतका नियमित र अनिवार्य प्रशासनिक काममा समेत बाधा उत्पन्न गरेको स्पष्टीकरणमा उल्लेख गरेका छन् ।
यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन ? भन्दै उनले प्रश्नसमेत गरेका छन् । स्पष्टीकरणमा आधार र कारण नखुलेकाले थप पुस्ट्याइँ पेस गर्ने अवस्था नरहेको उनको भनाइ छ ।
यस्तै, घिसिङले आफूमाथि लगाइएका सबै आरोप मनोगत रहेको उनले उल्लेख गरेका छन् । ‘मेरो नियुक्तिश्चात् प्रगतिको सूचकांकले सबै प्रगति उजागर गर्छ । तसर्थ आत्मगत रुपमा जवाफ चित्तबुझ्दो नभएको भनी पुनः स्पष्टीकरण माग गरिएको कानुन र न्यायको मान्य सिद्धान्त प्रतिकूल छ,’ उनको स्पष्टीकरणमा भनिएको छ ।
ऊर्जामन्त्री दीपक खड्काले भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा कुन निकायको स्वीकृति लिएर गएको भनेर सोधिएको पत्रमा घिसिङले ११ फेब्रुअरी, २०२५ मा नयाँदिल्ली भारतमा आयोजना भएको ज्वाइन्ट स्टिरिङ कमिटीको बैठकमा सहभागी हुन प्राधिकरणको कार्यकारी निर्देशक समेतलाई मनोनयन गरिएको उल्लेख गरेका छन् ।
गत पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै ऊर्जामन्त्री खड्काले मंगलबार मन्त्रीस्तरीय निर्णयबाट पदबाट किन नहटाउने भन्दै दुईबुँदे स्पष्टीकरण सोधेका थिए । पदबाट किन नहटाउने ? भनी सोधिएको दोस्रोपटकको स्पष्टीकरणको जवाफ कुलमानले ६ वटा बुँदामा दिएका छन् ।


लाल्टिन खबर 





