काठमाडौँ –नेपाल पर्वतारोहण संघले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) सँग आवद्ध गरेको पर्वतीय तालिम तथा पाठ्यक्रममा उत्तिर्ण हुने प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण तथा पर्वतीय पाठ्यक्रमबारे पुस्तक बिमोचन गरेको छ । बिहीबार संघले आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण चौधरी तथा एनएमएका अध्यक्ष निमा नोर्बु शेर्पाले सयुक्त रुपमा पुस्तक बिमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले नेपाल पर्वतारोहण संघले भूकम्प, कोरोना जस्ता प्रतिकुल अवस्थाले पर्यटकीय गतिविधी कम चलायमान हुँदा संघले दिँदै आएको पर्वतीय तालिमका कार्यक्रम प्रभावित भएपनि अव भने पूर्ण रुपमा तालिमको कार्यक्रम अघि बढाएको बताए । सैद्धान्तिक तालिम संघको कार्यालयमा दिइने गरेको र व्यवहारिक तालिम ककनीको खाली जमिनमा दिइने बताए । शेर्पाका अनुसार हाल नेपाल पर्वतारोहण संघले आधारभुतदेखि प्रोफेसनल माउन्टेन लिडर्स तालिम,हाई माउन्टेन रेस्क्यु ट्रेनिङ लगायतका एडभान्स तालिम दिँदै आएको छ ।अध्यक्ष शेर्पाले राज्यमन्त्री समक्ष संघलाई सरकारले बजेटको रातो किताबमै छुट्याएको रकम निकासा गर्न सहजिकरण गरिदिन आग्रह गरे ।
कार्यक्रममा अतिथिका रुपमा रहेका ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल टानका अध्यक्ष सागर पाण्डेले पर्वतीय पर्यटननै नेपालको पर्यटनको मूख्य आकर्षण रहेको हुँदा प्रशिक्षित र अनुभवी गाइडले विदेशी पर्यटकलाई आश्वस्त पारी नेपाली अर्थतन्त्रलाई मजबुत बनाउन सहयोगी हुने धारणा राखे ।
कार्यक्रममा पर्वतीय पर्यटन कोर्षमा सीटीईभीटीबाट उत्तिर्ण ३२ जनालाई प्रमाणपत्र प्रदान गरिनुका साथै प्रोफेसनल माउन्टेन लिडर्सहरुला्ई ब्याच प्रदान गरिएको थियो ।




लाल्टिन खबर 






