अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेरि कर बढाउने आफ्ना व्यापारिक साझेदार देशहरूलाई चेतावनी दिएका छन्। चीन, क्यानडा र मेक्सिकोविरुद्ध यसअघि नै कर बढाउने धम्की दिएका ट्रम्पले फेरि चेतावनी दोहोर्यााएका हुन् ।
ट्रम्पले चीनबाट आयात हुने सामग्रीमा यसअघि १० प्रतिशत करवृद्धिको घोषणा गरेका थिए। अहिले त्यसमाथि थप १० प्रतिशत करको घोषणा गरेको बीबीसीले जनाएको छ । यस्तै क्यानडा र मेक्सिकोविरुद्ध २५ प्रतिशत करको घोषणा गरे पनि कार्यान्वयन नगरेका ट्रम्पले उक्त घोषित कर मार्च ४ देखि कार्यान्वयनमा आउने बताएका छन्। मेक्सिको र क्यानडाले यसअघि उक्त कर रोक्न अमेरिकासँग छलफल गरेका थिए । साथै करविरुद्ध जवाफी कर लगाउने चेतावनीसमेत दिएका थिए।
ट्रम्पले यी देशविरुद्ध अवैध लागूऔषध उत्पादनको विषयलाई लिएर कर वृद्धि गरेको दाबी गरिरहेका छन्। ट्रम्पले फेन्टानाइल लगायतका लागू औषध चीनमा उत्पादन हुने र मेक्सिको तथा क्यानडा हुँदै अमेरिका प्रवेश गर्ने गरेको दाबी गरेका छन्। उनको यो दाबीलाई यी देशले यसअघि नै खारेज गरिसकेका छन्।



लाल्टिन खबर 






