काठमाडौं – मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियान्ता मोहना अन्सारीलाई २०८१ सालको दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा बिच अन्सारीलाई ५० हजार रुपैयाँ नगद राशीसहित कदरपत्रले सम्मान गरिएको हो । अन्सारीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पुरस्कार प्रदान गरे ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, कोषका संस्थापक हरिहर अर्याल ,सांसद डा दिनेश चन्द्र देवकोटा, प्राडा सुरेन्द्र केसी, पुरस्कृत प्रतिभा मोहना अन्सारी लगायतले दण्डपाणि अज्र्यालको योगदानबाट वर्तमान समाजले पाठ सिक्नुपर्ने बताउनुभयो ।
गोरखामा १९६३ सालमा जन्मिएका शिक्षासेवी, इतिहासविज्ञ तथा समाजसेवी दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष शास्त्र र संस्कृतिका अध्येता थिए । नन्दकुमारी उनकी धर्मपत्नी थिए । उनीहरुको नाममा पुरस्कार स्थापना गरिएको हो ।
विसं २०६२ मा स्थापित स्मृति केन्द्रले आफ्नो स्थापनाकालदेखि राष्ट्रिय महत्वका विषयमा योगदान पुर्याउने राष्ट्रिय प्रतिभालाई सम्मान गर्दै आएको छ ।
यसअघि इतिहासकार ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकारद्वय तुलसीराम वैद्य र दिनेशराज पन्त, साहित्यकार डा मोदनाथ प्राश्रित, शिक्षासेवी प्रा डा सुरेशराज शर्मा, राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसीलगायतका व्यक्तिलाई सम्मान गरिसकेको छ ।
कार्यक्रममा ईश्वरचन्द्र बानियाँको पहिलो घुम्ती पुस्तक लोकार्पण गरिएको थियो ।
पुरस्कार कोषका संस्थापकमध्येका हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्यालको उपस्थितिमा दण्डपाणि अर्ज्याल स्मृति केन्द्रका अध्यक्ष वरिष्ठ इ ईश्वरचन्द्र बानियाँको अध्यक्षतामा यही फागुन ११ गते बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।


लाल्टिन खबर 






