झापा- उपन्यासकार लीलबहादुर क्षेत्रीको निधन भएको छ ।
भारत आसाम गुहावटी निवासी क्षेत्रीको ९२ वर्षको उमेरमा भारतीय समय अनुसार गएराति १० बजेर १० मिनट जाँदा आफ्नै निवासमा निधन भएको हो ।
नेपाल सरकारबाट जगदम्बाश्री पुरस्कार र भारतीय सरकारबाट पद्मश्री पुरस्कार प्राप्त गरेका क्षेत्रीले बसाइँ, ब्रम्हपुत्रको छेउछाउ, अतृप्तजस्ता उपन्यास लेखेका छन् ।
उनले आसाममा नेपाली भाषाको साह्रो-गाह्रोजस्ता चर्चित निबन्धसमेत लेखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उहाँका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
“लीलबहादुर क्षेत्रीको ‘बसाइँ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो। उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’बाट सम्मानित उहाँको ‘बह्मपुत्रको छेउछाउ’, उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको सङ्घर्षको कथा भन्छ,” स्रष्टा क्षेत्री र उहाँको सृजना बसाइँको आवरण पृष्ठको तस्विर पोष्ट गर्दै प्रधानमन्त्रीले लेख्नुभएको छ ।
साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा गए राति आसामको राजधानी गुवाहाटीमा निधन भएको हो ।


लाल्टिन खबर 






