काठमाडौँ, ४ चैत – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले भावनामा बगेर दोहोरो नागरिकतालाई स्वीकार नगरेको बताएका छन्।
सोमबार प्रतिनिधि सभामा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक – २०८१’ माथि भएको छलफलमा सांसदहरुले राखेको सुझावका विषयमा जवाफ दिँदै उनले गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको बताए।
नेपाली नागरिकता त्याग गर्न नचाहने गैरआवासीय नेपाली मुलका व्यक्तिलाई मात्रै गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको उनको भनाइ छ।
उनले भने, ‘भावनामा नडुबीकन नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई स्वीकारेको छैन। त्यसकारण हामीले के नबुझौँ भने गैरआवासीय नागरिकता प्राप्त व्यक्ति भनेर किन भन्नु परेको? उहाँहरुले प्राप्त गरेको नागरिकता हामीले प्राप्त गरेको जस्तो जनरल होइन। त्योभन्दा भिन्न भएको हुनाले सहुलियतको रुपमा उनीहरुलाई गैरआवासीय नागरिकता प्रदान गरेको। त्यसकारणले गैरआवासीय नागरिकता त्यस्ता व्यक्तिलाई दिएको छ, जो नेपाली मुलको विदेशी नागरिक छ र त्यहीँ बसेको छ, जसले हाम्रो नागरिकता त्याग नगर्ने कुरा गरेको छ।’
सञ्चारमन्त्री गुरुङले विदेशमा बसेको नेपाली मुलका नेपाली नागरिकलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था गरिएको बताए।









