images
images
images

विद्यालयहरूलाई नियमविपरीत विद्यार्थी भर्ना नगर्न काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं, ५ चैत – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र शुरु नभई नियमावलीविपरीत विद्यार्थी भर्ना नगर्न/नगराउन सबै विद्यालयलाई निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै भर्ना नगर्न निर्देशन दिएको हो।

महानगरपालिकाले शैक्षिक सत्र शुरु नभई विद्यार्थी भर्ना गर्न गराउन नहुने व्यवस्था रहेकोमा कतिपय विद्यालयले शैक्षिक सत्र शुरु नहुँदै विद्यार्थी भर्ना गरेको जनगुनासो कामपा शिक्षा विभागमा आएको जनाएको छ।

‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६) मा कसैले पनि शैक्षिक सत्र शुरु नभई विद्यार्थी भर्ना गर्न गराउन नहुने व्यवस्था रहेकोमा कतिपय विद्यालयले शैक्षिक सत्र शुरु नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो यस कार्यालयमा आएको हुँदा शैक्षिक सत्र शुरु नभई नियमावली विपरीत विद्यार्थी भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ, अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्याहोरा जानकारी गराइन्छ,’विज्ञप्तिमा उल्लेख छ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) छन्। सामुदायिक तथा संस्थागत विद्यालयहरूको नियमन तथा समन्वयसम्बन्धी विभिन्न व्यवस्थाहरू स्थानीय तहको अधिकारमा पर्छन्।