images
images

कुलमानको बर्खास्तीको विरोध गर्दै जनार्दन शर्मा: लखेट्दा युद्ध जितेको लाग्ला तर पराजित हुन्छौ

काठमाडौं, १२ चैत – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुलमान घिसिङको बर्खास्तीको विरोध गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा रहेर कुलमानले राम्रो काम गरेको भनी उनको प्रशंसा गर्दै जनार्दनले यसअघि पनि लखेटिएका उनलाई फेरि पनि ल्याउने अभिव्यक्ति दिएका छन् ।

यसअघि पनि ओलीले हटाएका कुलमानलाई माओवादी नेतृत्वको सरकारले फिर्ता ल्याएको थियो । २०७८ साल असारमा तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले शाक्यलाई नै हटाउँदै घिसिङलाई चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

यस पटक पनि कुलमानको कार्यकाल सकिन झन्डै चार महिना बाँकी रहँदा अहिलेको सरकारले फेरि शाक्यलाई पदमा फर्काएको एक मन्त्रीले जानकारी दिए ।

साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रो काम गर्नेलाई लखेट्न पाउँदा युद्ध जितेको लागे पनि आत्मसन्तुष्टिको बाटो मात्र भएको र पछि पराजित हुने बताएका छन् ।

‘पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको कुरा स्मरण गर्दै, लोड सेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको हाम्रो सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भुमिकाको प्रशंसा गर्दै भन्न चाहान्छु राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले वेला वेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ति सधैँ पराजीत नै हुन्छन्,’ सामाजिक सञ्जालमा उनी लेख्छन् ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो । सरकारले उनलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।