images
images

भन्सारका तीन कर्मचारी निलम्बन

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी निलम्बनमा परेका छन् ।

हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको अन्दाजी ८० देखि १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि ३ जनालाई निलम्बन गरिएको हो ।

कर्मचारीको कमजोरी देखिएकाले निलम्बन गरिएको भन्सार विभागको भनाइ छ । भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् । ब्रेक शु आउँदा भन्सार कार्यालयका कर्मचारी सरोज श्रेष्ठको ड्युटी एक्सरे मेसिनमा हेर्ने थियो । तर, उनको लापरवाहीले उक्त सुन भित्रिएको स्रोतले बतायो ।

शंकास्पद सामान आएको थाहा पाएर पनि उनले थप प्रक्रिया नपर्‍याएको बताइएको छ । रेडी प्रालिले आठ वटा ब्रेक शुका बक्स ल्याएको थियो । जसमध्ये पाँच वटा बक्सलाई हेर्न भनेर लेखेको पाइएको थियो । उनी टेलिफोन अपरेटर हुन् । उनले एक्सरे हेर्नेसम्बन्धी तालिम लिएका व्यक्ति हुन् ।

यस्तै, खरिददार कुमार ढकालले ब्रेक शुको बक्स खोलेर हेरेको देखिन्छ । तर, पनि उनले सुन देखेनन् । त्यस्तै, भन्सार अधिकृत सन्तोष चन्द भने उक्त सामान भएको ठाउँमै नपुगेको भन्सार विभागले जनाएको छ ।

त्यससमय भन्सारमा आएका सामान हेर्ने जिम्मेवारी उनको थियो । तर, उनले एकपटक पनि नहेरेको पाइएपछि निलम्बन गरिएको हो । निलम्बनमा परेका कर्मचारी पनि अनुसन्धानको घेरामा छन् । उनीहरूसँग पनि राजस्व अनुसन्धान विभागले सोधपुछ गरी थप कारबाही गर्नसक्ने बताइएको छ ।

भन्सारबाट छुटेर बाहिरिने क्रममा राजस्व अनुसन्धान विभागले पाएको सुराकको आधारमा खटिएको टोलीले मंगलबार उक्त सुन बरामद गरेको थियो । यस प्रकरणमा विभागले १० जनालाई पक्राउ गरिसकेको छ । जसमा चिनियाँ नागरिक एक जना र भारतीय नागरिक एक जना छन् ।