images
images
images

भारतीय सहयोगमा सप्तरीमा विद्यालय भवन निर्माण सुरु

काठमाडौँ, १४ चैत – भारतीय सहयोगमा सप्तरीको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण सुरु गरिएको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले आज संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गर्नुभयो । त्यस अवसरमा उहाँहरूले नेपाली जनताका लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गर्दै निर्माण हुने पूर्वाधारले विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयोे ।
यसले सिकाइका लागि उपयुक्त वातावरण सिर्जना र यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन उहाँहरूले बताउनुभयो । ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा रु दुई करोड ७६ लाख परियोजना लागतमा भवन निर्माण हुन लागेको हो । त्यहाँ तीनतल्ले विद्यालय भवन र अन्य संरचनाहरू निर्माणमा प्रयोग गरिने बताइएको छ ।
यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) का रूपमा लिइएको छ । यसको कार्यान्वयन स्थानीय सुरुङ्गा नगरपालिकामार्फत गरिँदैछ । जनता माध्यमिक विद्यालय सन् १९५१ मा स्थापना भएको थियो । उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिएको छ ।
यस विद्यालयमा लगभग ६०० विद्यार्थीहरू छन्, जसमध्ये ६० प्रतिशत छात्राहरू रहेका छन् । सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५६३ भन्दा बढी एचआइसिडिपीहरूमा कार्य गरेको छ र ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको जनाइएको छ । यीमध्ये ८२ वटा परियोजनाहरू मधेस प्रदेश र त्यसमा नौ परियोजनाहरू सप्तरीमा रहेका छन् । रासस