नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध भएको ६६ वर्षको इतिहासमा नेपालका प्रधानमन्त्रीबाट थाइल्याण्डको भ्रमण भएको यो पहिलो अवसर हो। प्रधानमन्त्री ओलीले भ्रमण र शिखर सम्मेलनका क्रममा भएका द्विपक्षीय भेटवार्ताका क्रममा पनि ती मुलुकसँगको सम्बन्ध विस्तारमा थप बल पुगेको उल्लेख गर्नुभयो।प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रालाई नेपालको औपचारिक भ्रमणको निमन्त्रणा दिनुभएको छ भने दुईपक्षीय वार्ताका क्रममा संस्कृति, पर्यटनसहित आठ विषयमा सम्झौतामा हस्ताक्षर भएको थियो।
प्रधानमन्त्री ओलीले आफ्नै जग्गामा नेपाली राजदूतावास सञ्चालन भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा यसका लागि थप पूर्वाधार विकास गर्नुपर्ने खाँचो औँल्याउनुभयो।

प्रधानमन्त्री ओलीसहित भ्रमण दलमा रहनुभएका प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले दूतावासको अवलोकन गर्नुभएको थियो। भ्रमण दललाई स्वागत गर्दै थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले दूतावासको आफ्नै जग्गामा भवन भए पनि नयाँ भवन बनाउनुपर्ने र जग्गा पनि थप विस्तार गर्नुपर्ने अवस्थाबारे जानकारी गराउनुभएको थियो।


लाल्टिन खबर







