काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताका कारण व्यावसायिक वातावरण बिग्रन नदिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्थिर सरकारका कारण मुलुकमा विगतमा लगानीको वातावरण बिग्रिए पनि अब त्यस्तो अवस्थाको अन्त्य भएको बताए।
उनका अनुसार नीतिगत अस्थिरताले लगानीको वातावरण विगतमा बिग्रेको थियो। देशमा भ्रष्टाचारको न्यूनीकरण र अन्त्य गर्न सरकार कटिबद्ध रहेको पनि बताए।
प्रधानमन्त्री ओलीले जनतालाई सेवा सुविधा पुर्याउनका लागि संघीय प्रणाली स्थापित गरिएको उल्लेख गरे। निजी क्षेत्रले दिएको सल्लाह सुझावअनुसार सरकार चलेको प्रधानमन्त्री ओलीको भनाइ छ।
सरकारले ल्याएका अध्यादेशहरु सही रहेको र अर्थतन्त्र चलायमान हुन सघाउ पुग्ने उनले बताए।



लाल्टिन खबर 






