काठमाडौं, २ बैशाख – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौंमा भइरहेको शिक्षकहरूको आन्दोलनप्रति चासो व्यक्त गरेका छन् ।
विगत १३ दिनदेखि लगातार काठमाडौंको माइतीघर–नयाँबानेश्वर क्षेत्रमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरूका समस्या समाधानका लागि महामन्त्रीद्वयले आन्दोलनरत शिक्षक अगुवाहरूसँग सोमबार साँझ छलफल गरेका हुन् ।
शिक्षकहरूको आन्दोलनका कारण विद्यालय विद्यार्थी भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण, वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा प्रभावित हुने देखिएको छ ।










