images
images

शिक्षकका माग सम्बोधन हुनेगरी चाँडै विधेयक जारी हुन्छ : मन्त्री भट्टराई

काठमाडौं,  ३ बैशाख – विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूको माग सम्बोधन हुनेगरी चाँडै शिक्षा विधेयक जारी हुने बताएकी छन्। शिक्षामन्त्रीले एक भिडियो सन्देश जारी गर्दै यस्तो बताएकी हुन्।

उनले शिक्षकहरूसँग निरन्तर सम्वादमा रहेको पनि बताइन्। उनले भनिन्,‘करिब १५ दिनदेखि शिक्षकहरू सडकमा आन्दोलन गर्दै हुनुहुन्छ,हिजो मात्रै बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकको माग सम्बोधन गर्नेगरी छिटो शिक्षा विधेयक जारी गर्न संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको छ,शिक्षा मन्त्रालय शिक्षकसँग निरन्तर संवादमा छ,मन्त्रालयको तर्फबाट सहजीकरण समिति निर्माण गरेर उहाँहरूसँग संवाद गर्नका लागि वातावरण बनोस् भनेर त्यही कार्यमा छौँ।’

देशभरका शिक्षक/कर्मचारीहरू चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्। हिजो बसेको मन्त्रिपरिषद् बैठकले  संघीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गर्दै शिक्षकहरूलाई विद्यालयमा फर्कन आग्रह गरेको थियो। तर,शिक्षकहरूले आज पनि आन्दोलन कायमै राखेका छन्।