images
images

बालुवाटार बैठकको निष्कर्ष- सत्ता गठबन्धनमा कुनै समस्या छैन

काठमाडौँ, ४ बैशाख – सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, बाहिर उत्पन्न भएका क्रिया प्रतिक्रियाबारे समीक्षा भएको हो ।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै उनले समसामयिक नियमित विषयमा सकारात्मक छलफल भएको बताए।

“दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको नियमित बैठक बसेको हो । समसामयिक विषयमा राम्रो छलफल भएको छ”, उनले भने, “सत्ता सञ्चालनका विषयमा कुनै समस्या छैन । बाहिर जुन ढङ्गले कुरा आइरहेको छ, त्यस्तो कुनै समस्या छैन । दुई शीर्ष नेतासहितको बैठकमा सौहाद्र्रपूर्ण र सकारात्मक कुराकानी भयो ।”

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, सरकार सञ्चालनको विषयबारे समीक्षा भएको बताइएको छ  ।

गृहमन्त्री लेखकले शिक्षकको माग चाँडो सम्बोधनका लागि सरकार गम्भीर रहेको बताए । संसद्को आगामी अधिवेशनबाट शिक्षासम्बन्धी विधेयक टुङ्गो लाग्ने विश्वास व्यक्त गरे।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संयन्त्रका नेताहरू सहभागी थिए। एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए।

यस्तै, कांग्रेसका तर्फबाट गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री डा आरजुराणा देउवा सहभागी थिए। तर, कांग्रेसका उपसभापति पुर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएनन्।