काठमाडौँ, ४ वैशाख – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यसम्पादन, विकास निर्माण र स्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयद्वारा आज भैरहवामा आयोजित बेरुजु फछ्र्यौटसम्बन्धीको कार्यशालामा उहाँले कार्यसम्पादनका क्रममा सकेसम्म बेरुजुनै आउन नदिन र आएको भए फछ्र्यौट तर्फ ध्यान दिन आग्रह गर्नुभयोे । मन्त्री दाहालले नागरिकले हरेक सेवामा सुशासन र पारदर्शीताको अपेक्षा गर्ने र सरकारलेसमेत आर्थिक अनुशासनलाई प्राथमिकता दिएकाले आफ्ना हरेक कामको उत्तरदायित्व निर्वाह गर्नुभयो ।

उहाँले भन्नुभयो, “कतिपय आयोजना समयमा पूरा नहुने, अलपत्र हुने तथा रुग्ण भएर बस्ने जस्ता समस्या देखिएको छ , त्यस तर्फ पनि हरेक कार्यालय र कर्मचारीले ध्यान दिनुपर्छ । ” मन्त्री दाहालले सुरु गरिएका आयोजना तोकिएकै समयमा पूरा हुने गरी कार्यक्षेत्रमा परिचालित हुन कर्मचारीलाई सुझाव दिनुभयो ।
कर्मचारीको कार्यसम्पादनबाटनै नागरिकले सरकारको महसुस गर्ने भएकाले सरकारको आभाष दिलाउने गरी काम गर्न उहाँको आग्रह छ । नेपालमा केही भएन, हुँदैन र हुनसकेन भन्ने जस्ता गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै मन्त्री दाहालले सरकारले गरेका काम, प्रभाव र परिवर्तन नागरिकसम्म पुर्याउन जरुरी रहेको बताउनुभयो ।










