काठमाडौं, ६ बैशाख – स्वदेशी बजारमा निजी क्षेत्रका वायू सेवा प्रदायकबीच तीब्र प्रतिस्पर्धा भइरहेका बेला बुद्ध एयरले पुनः भारतको कोलकात्तामा उडान भर्ने घोषणा गरेको छ। छिमेकी मुलुक भारतको एतिहासिक र औद्योगिक तथा पारवहन बिन्दु कोलकात्ताका लागि उडान भर्ने तयारी गरेको हो।
बुद्ध एयरले आफ्नो बेडामा भएको एटिआर ७२-५०० मोडलको जहाजमार्फत नै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकात्ताको नेताजी सुभाष चन्द्र बोस विमानस्थलसम्म उडान भर्ने भएको छ। यो रूटमा उडान भर्नका लागि एटिआर जहाजले १ घण्टा ३० मिनेटको समय लिन्छ। बुद्धले हाल यसै जहाजमार्फत भारतको धार्मिक तथा एतिहास शहर, बनारशका लागि काठमाडाैं बनारश दुई तर्फीरूपमा सातामा दुई पटक हवाई उडान भरिरहेको छ।

बुद्ध एयरले काठमाडौंबाट उत्तरपूर्वी भारतको सिक्किम राज्य अन्तर्गत पर्ने पाक्योङसम्म हवाई सेवा शुरू गर्नका लागि एक वर्ष अघि नै अध्ययन गरेपनि यो रूटमा अझैसम्म सेवा शुरू गरिसकेको छैन। राष्ट्रिय र क्षेत्रिय दुबै रूटमा उडान भर्ने बुद्ध एयर निजी क्षेत्रको एक मात्र वायू सेवा प्रदायक हो।
बुद्ध एयरले ६ वर्ष अघि काठमाडाैं कोलकात्ता रूटमा हवाई सेवा शुरू गरेपनि पर्याप्त व्यापार गर्न नसकेपछि सेवा बन्द गर्नु परेको थियो। बुद्ध एयरले त्यसबेला ७ महिनासम्म उडान भर्दा झण्डै १० करोड रूपैयाँ घाटा व्यहोर्नु परेको जानकारी गराएको थियो।
२०१९ को मे २७ तारेखमा काठमाडाैं कोलकाता रूटमा उडान भर्दा बुद्ध एयरले दुईतर्फी हवाई भाडा दर प्रति व्यक्ति रू. २२ हजार तोकेको थियो । ६ वर्षको अवधिमा हवाई इन्धन, व्यवस्थापन खर्च, विमानस्थल शुल्क लगायतको खर्च बढेकाले भाडा दर अझै महँगो हुनसक्ने अनुमान गरिएको छ।









