images
images

राप्रपाका अध्यक्ष लिङ्देन सिंहदरवार भित्रैबाट गिरफ्तार

काठमाडौँ, ७ बैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देन सिंहदरवारभित्रैबाट पक्राउ परेका छन्।

शुक्रवार दिउँसो उनी सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पुगेका थिए। सोही कार्यालयबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको राप्रपाका सांसदहरूले बताएका छन्।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार लिङ्देनसहित केही सांसदहरू संसदीय दलको कार्यालयमा छलफलमा रहेका बेला प्रहरीको ठूलो समूह सिंहदरवार परिसरमा प्रवेश गरेको थियो। उनले भने, “हामी छलफलमै थियौँ, प्रहरीको गाडीहरू बाहिर राखेर हामीलाई बाहिर निस्कन नदिएर बन्धक बनाइएको छ।”

स्रोतका अनुसार लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित विरोध प्रदर्शन गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो। उनीहरू सिंहदरबारको गेटतर्फ निस्कन लाग्दा लिङ्देनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउसँगै सिंहदरवार परिसरमै अन्य राप्रपा नेताहरूले विरोध प्रदर्शन गरिरहेका छन्। पार्टीका सांसदहरूले यो गिरफ्तारीलाई असंवैधानिक र दमनकारी कदम भन्दै कडा आपत्ति जनाएका छन्।

यस विषयमा सरकार पक्ष वा सुरक्षा निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।