images
images
images

राष्ट्र बैंकको गभर्नरमा युवराज खतिवडाको चर्चा

काठमाडौं, ९ बैशाख – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा अवरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि गभर्नर भइसकेका युवराज खतिवडालाई अघि सार्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले यसअघि गभर्नरको कार्यकाल पूरा गरिसकेका खतिवडालाई अर्थमन्त्री र राजदूत समेत बनाइसकेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमा एमाले र कांग्रेस सहमत भएपछि यसअघि राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । भट्टलाई गभर्नर बनाउने लगभग निश्चित भएपछि उनले आफ्नो पदबाट राजीनामा पनि दिइसकेका थिए । तर, लगत्तै भट्टलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर भएपछि उनको नियुक्ति तत्कालको लागि रोकिएको छ ।

भट्टको नियुक्ति रोकिएसँगै राष्ट्र बैंक अझै केही समय कायममुकायमको नेतृत्वमा चल्नुपर्ने अवस्था आएकोले सरकारमाथि गभर्नर छिटो नियुक्त गर्नुपर्ने दबाब छ । यसअघिका गभर्नर महाप्रसाद अधिकारी कार्यकाल पूरा गरेर विदा भइसकेका छन् र अहिले राष्ट्र बैंक कामु गभर्नरको नेतृत्वमा चलिरहेको छ ।

भट्टको नियुक्ति प्रक्रिया अदालती झमेलामा अल्झिएपछि प्रधानमन्त्री ओलीले आफ्ना प्रिय पात्र खतिवडालाई नै गभर्नर बनाउने प्रस्ताव कांग्रेसलाई पठाउने तयारी गरिरहेको स्रोत बताउँछ । यसअघि राष्ट्र बैंकको गभर्नर भइसकेका खतिवडा फेरि गभर्नर बन्न कानुनले रोक्दैन किनकि राष्ट्र बैंक ऐनमा गभर्नर दोहोरिन नपाउने प्रावधान छैन ।

प्रधानमन्त्री ओलीले देशको कमजोर अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सक्ने र अन्तर्राष्ट्रिय समुदायले समेत विश्वास गर्न सक्ने पात्रको रुपमा दावी गर्दै खतिवडालाई अगाडि सार्ने तयारी गरिरहेको स्रोत बताउँछ । यसको बदलामा रिक्त हुन लागेका संवैधानिक आयोगका प्रमुख तथा पदाधिकारी र राजदूतको भागबण्डामा कांग्रेसलाई भाग दिने प्रस्ताव गर्ने तयारी प्रधानमन्त्रीले गरेको बताइएको छ ।