काठमाडौँ, ९ वैशाख – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ ।
![]()
दुईदिने भ्रमणका क्रममा आज नेपाल आउनुभएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको हो । सोही अवसरमा उहाँहरूले आयोजनाको ‘युनिट–२’ को संयुक्त रूपमा उद्घाटन गर्नाका साथै वृक्षरोपण गर्नुभयो ।
![]()
अवलोकनका क्रममा मन्त्रीद्वयले हालसम्मको आयोजनाको प्रगति र आयोजना निर्माणका क्रममा देखिएका समस्याका बारेमा ठेकेदार कम्पनीसँग जानकारी लिनुभएको थियो । ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो ।
![]()
“अरुण तेस्रो देशकै महत्वपूर्ण जलविद्युत् आयोेजना भएकाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको छ, सरकारले कुनै कमी हुन दिँदैन,” मन्त्री खड्काले भन्नुभयो । भारतका विद्युत्मन्त्री खट्टरले नेपाल जलविद्युत्को क्षेत्रमा अपार सम्भावना भएको मुलुक भएकाले ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने बताउनुभयो । उहाँले अरुण तेस्रो जलविद्युत् आयोजना चाँडो सम्पन्न गर्न सके दुवै देशलाई फाइदा हुने भएकाले समयमै सक्नुपर्नेमा जोड दिनुभयो ।
![]()
भारत सरकार नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको उहाँको भनाइ थियो । सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकाको सिमानामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना ९०० मेगावाट क्षमताको छ ।
![]()









