काठमाडौँ- सत्ता समीकरण धरमराउँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गरेका छन्।
बर्खास्तीमा परेका राज्यमन्त्री तामाङले प्रधानमन्त्री ओलीलाई तीन गम्भीर आरोप लगाएका छन्।
तामाङले ओली जनजाति विरोधी भएको बताएका छन् भने एउटा आयोजनाको डिपिआर बनाउँदा एमालेले भनेअनुसार बजेट राख्न भनिएको र आफूले नमानेको उनले बताएका छन्।्
उनले बर्खास्तीमा परेपछि भने- ‘मलाई हटाउनुको कारण दुई-तीनवटा त छन् नि। एउटा त जनजातिलाई देखी सहेनन्। अर्को कुलमानलाई हटाएको विषयमा अलिअलि बोलिदिएको थिएँ, अर्को कारण कुनै आयोजनाको डीपीआर बनाउन एमालेले भनेअनुसारको बजेट राखेर गर्ने निर्देशन आयो मैले डीपीआरको खर्च कसले बेहोर्छ भनेर सोधेको थिएँ उनीहरूलाई चित्त बुझेन।’
ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए। सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्यमन्त्री तामाङसँग रिसाएका थिए।
तामाङका अनुसार ओलीले गृहमन्त्री रमेश लेखकलाई तामाङलाई राजीनामा दिन लगाउन भनेका थिए। दिउँसो गृहमन्त्रीले तामाङलाई राजीनामा दिन भनेको तर आफू प्रधानमन्त्रीलाई राजीनामा नदिने बताएसँगै बर्खास्त गरिएको जानकारी पनि उनले दिए।









