मुग्लिन–पोखरा सडक विस्तारको पूर्वी खण्डअन्तर्गत दमौली बजारस्थित बागबजार खण्डमा शुक्रबारदेखि दोस्रो चरणको कालोपत्र सुरु भएको छ । केही हप्ताअघि पहिलो चरणको कालोपत्र सकिएपछि यो खण्डमा थप काम अघि बढाइएको हो ।
दमौली बजारका मुख्य चोक, सफासडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्र पूरा भइसकेको छ । अहिले एकतर्फी कालोपत्रको काम तीव्र रूपमा भइरहेको जानकारी आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले दिए । उनका अनुसार दमौली खण्डमा घरटहरा हटाउने काममा ढिलाइ हुँदा कालोपत्र ढिलो भएको हो ।
पूर्वी खण्डमा अन्यत्र कालोपत्र अन्तिम चरणमा पुगेको छ भने दमौली खण्डको ८२ दशमलब ९५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । अहिले चार लेनतर्फ ३३ दशमलब ५६ किलोमिटर र दुई लेनतर्फ ३.२ किलोमिटर दूरीमा अन्तिम कालोपत्र सम्पन्न भइसकेको छ ।
पाण्डेले बताएअनुसार हालसम्म कालोपत्र भएको दूरी दुई लेनको आधारमा गणना गर्दा कुल ७३.११ किलोमिटर पुगेको छ । पूर्वी खण्डको ठेक्का विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीले निर्माण कार्य थालेको हो ।
विसं २०२६ मा रेखाङ्कन गरिएको यो सडकमा सवारी चाप तीव्र रूपमा बढेपछि एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा चार लेनमा विस्तार थालिएको हो । पूर्वी खण्डको ठेक्काको लागत रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रहेको छ ।


लाल्टिन खबर 






