images
images

नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र” बनाउन सांसद ढकालको माग

काठमाडौं, १४ बैशाख – प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले नेपाल सरकारले यहि मे १६ देखि १८ सम्म (२०८२ साल जेठ २–४ गते) काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादको तयारीमा सांसदहरुलाई पनि परिचालन गर्न अनुरोध गर्नुभएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद ढकालले हिमाली देशहरूको वास्तविकता र आवश्यकतालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन फ्रेमवर्क कन्भेन्सनको नीतिगत एजेन्डामा स्थान दिन सकोस् र नेपाललाई वातावरणीय कूटनीतिमा सशक्त बनाउन अनुरोध गर्नुभयो । उहाँले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको गम्भीर र तीव्र प्रभावहरूबारे अन्तर्राष्ट्रिय समुदायमा जागरुकता अभिवृद्धि गर्न समेत आग्रह गर्नुभयो ।

यस्तै, हिमाली क्षेत्रका राष्ट्रहरूबीच जलवायु परिवर्तनले पारिरहेको बहुआयामिक प्रभावको विषयमा साझा समझदारी विकास गर्नुपर्ने, समावेशी तथा न्यायपूर्ण जलवायु नीतिहरू निर्माण प्रक्रियामा हिमाली राष्ट्रहरूको प्रभावकारी सहभागिता सुनिश्चित गर्न समेत सांसद ढकालले माग गर्नुभयो । नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र” को रुपमा विकास गरोस् भन्दै सांसद ढकालले जलवायु सङ्कटसँग जुझ्न विकासोन्मुख राष्ट्रहरूलाई आवश्यकपर्ने जलवायु वित्त,प्रविधि हस्तान्तरण र क्षमता विकासका क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्यलाई प्रबर्द्धनमा गर्न समेत आग्रह गर्नुभयो ।