images
images

आन्दोलनरत शिक्षकका माग तत्काल पूरा गरियोस्ः नारायणकाजी

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन्।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले २६ दिनदेखि शिक्षकहरू आन्दोलनमा रहेको बताउँदै उनीहरूका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। उनले शिक्षकहरूलाई पठनपाठनको लागि छिट्टै पठाउने व्यवस्था गर्नसमेत सरकारसमक्ष आग्रह गरे।

उनले प्रधानमन्त्रीले नै शिक्षकहरूप्रति व्यङ्ग्य गरेको भन्दै आक्रोश व्यक्त गरे। उनले शिक्षकहरूले विगतमा भएको सम्झौता कार्यान्वयन र विधेयक पारित भई ऐन बनोस् भन्ने माग राखेको भन्दै सरकारले त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

उनले यसअघि आफू सरकारमा हुँदा शिक्षकहरूसँग वार्ता गरी सम्झौता गरेको स्मरण गर्दै विधेयकलाई अगाडि बढाउने क्रममा सरकारबाट बाहिरिनुपरेको बताए।

उनले भने, ‘आज सकारात्मक वार्तामार्फत त्यो सम्बोधन गर्नु त परैको कुरा हो , प्रधानमन्त्री नै शिक्षकहरूलाई व्यङ्ग्य गर्ने, शिक्षामन्त्री हुने व्यक्तिले सडकबाट ऐन बन्दैन भनेर सुरमै आक्रमण गर्ने, यो के तरिका हो? म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, शिक्षकहरूका माग पूरा गरिओस् र शिक्षकहरूलाई छिटो पठनपाठनका लागि पठाउने व्यवस्था गरियोस्।’