images
images

राजनीतिक उद्देश्यले मन्त्रीको राजीनामा माग्नु गलत होः प्रधानमन्त्री दाहाल

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरूको राजीनामा मागि हाल्ने संस्कृति गलत भएको बताएका छन्।

शुक्रबार इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरूलाई स्पष्टीकरण राख्न दिनुपर्ने बताए।

स्पष्टीकरणको मौका नदिकन राजीनामा नदिए संसद चल्न दिन्नौँ भन्ने संस्कृति राम्रो नभएको प्रचण्डको भनाइ छ। उनले भने,’राजनीतिक उदेश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन, स्पष्टीकरण राम्रोसँग दिने मौका पनि नदिकन राजीनामा दिने भए देउ नत्र सदन चल्न दिँदैनौँ भनेर पहिल्यै घोषणा गर्ने कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन।’

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुँदा देशको कृषि क्षेत्रको मार्ग दर्शन भएका बताए।

सम्मेलनको क्रममा बांगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट भएको र नेपाल र बांगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र बंगलादेशबीचको सहकार्य जस्ता विषयहरु छलफल भएको बताए।

बंगलादेश सरकार नेपालमा उत्पादित जलविद्युत खरिद गर्न इच्छुक रहेको र आर्थिक अन्तरनिर्भरताको लागि यो महत्त्वपूर्ण हुने बताए।

प्रधानमन्त्री दाहालले लम्पी स्किनको बारेमा छलफल गरी धेरै हदसम्म नियन्त्रण र उपचारमा लागिसकेको बताए। उनले सरकारको तर्फबाट लम्पी स्किनको निदानतर्फ सचेत रहेको बताए।