काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको बताएका छन्।
भारत भ्रमण सकेर स्वदेश फर्किएका डा. भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा भारतमा नागरिकस्तरमै पनि नेपालमा व्यवस्था उल्टिनेबारेमा चासो रहेको पाएको तर भारत सरकार र भारतका मुख्य शक्तिहरु त्यसको पक्षमा नरहेको बताए।

उनले अनावश्यक ढंगले भ्रम पैदा गरेर प्रतिगामी शक्तिहरुले विरोध गरिरहेको आरोप लगाए। उनले नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा भारत नरहेको पाउँदा सन्तुष्टि मिलेको बताए।
उनले भने, ‘भारतमै जनस्तरमै चासो भएको विषय के रहेछ भने जुन विभिन्न प्रकृतिका आन्दोलन भइरहेका छन्। त्यो कतै व्यवस्थाकै विरुद्धको हो कि भन्ने रहेछ। केही व्यक्तिहरु त्यसमा लागेको हुनसक्छ। तर भारत सरकार आफैँ र त्यहाँको मुख्य शक्तिहरुको फेरि यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरुलाई उक्साउने गतिविधि त्यहाँबाट भएको छैन। हुन सक्दैन, त्यसले लाभ गर्दैन भन्ने कुरा नै आयो। हामीलाई अनावश्यक ढंगले भ्रम छरेर प्रतिगामी शक्तिहरु त आइहाल्ने हो कि, भोलि नै आइहाल्ने हो कि भन्ने कुरा सत्य होइन।’
उनले भारत सरकार नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले काम गर्न नसकेको निष्कर्षमा पुगेकाले नयाँ विधि अपनाउनुपर्ने देखिएको बताए। उनले नयाँ विधिबाट नेपाल र भारतबीचका समस्याहरु समाधान गर्न भारत पनि सकारात्मक रहेको नेताहरुसँगको भेटका क्रममा आफूले जानकारी पाएको बताए।
उनले नेपाल र भारतबीच बाँकी रहेका समस्यालाई संवादका माध्यमबाट नै समाधान गर्न उचित हुने बताए। इपिजीको ठाउँमा नयाँ विधि अपनाएर दुई देशका समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीस्तरीय वार्ता हुनुपर्ने आवश्यकता महशुस गरेको उनको भनाइ थियो।

अध्यक्ष भट्टराईले छिमेकीहरूसँग ठिक ढंगले सम्बन्ध राखेर अघि बढ्ने हो भने कागले कान लग्यो भन्दैमा कागको पछि दौडिन जरुरी नरहेको बताए ।


लाल्टिन खबर 






