काठमाडौं, १७ वैशाख – विश्वकै उत्कृष्ट ४४ क्लबभित्र पर्न सफल ठमेलस्थित क्लब एलओडी (लर्ड अफ ड्रिङ्ङ्क्स) ले १० करोड रुपैयाँ खर्चिएर आफ्नो इन्टेरियर बदल्ने भएको छ ।
कम्पनीका सञ्चालक भुपेन कुँवरले इन्टेरियर ५ महिनाभित्र बदल्ने योजना रहेको जानकारी दिए ।

‘विश्वकै उत्कृष्ट ४४ क्लब मध्येमा पर्नु नै हाम्रो लागि सफलता हो । आउँदा दिनमा थप स्तरीय सेवा दिने उद्देश्यसहित हामी इन्टेरियर बदल्दैछौं,’ उनले भने, ‘पाहुनालाई संगीतको आनन्द र विभिन्न खालका मनोरञ्जन प्रदान गरेर सुमधुर वातावरण बनाउने प्रयास अन्तर्गत काम अगाडि बढाइएको छ । साउण्ड सिस्टम, लाइटिङ, सिटिङ एरेन्जमेन्ट लगायत परिवर्तनका लागि १० करोड रुपैयाँ खर्च हुने अनुमान छ ।’
उनका अनुसार इन्टेरियर परिवर्तनका क्रममा क्लबको सेवा प्रभावित हुनेछैन । क्लबमा हाल ६०० जनाका लागि सिटिङ र २२ सय जनाका लागि स्ट्याण्डिङ क्यापासिटी छ । क्लबमा करिब २०० जना कार्यरत छन् ।

अन्तर्राष्ट्रिय बजारमा जाने तयारी क्लबले अन्तर्राष्ट्रिय बजारमा जाने तयारी पनि गरिरहेको छ । मध्यपूर्वका देश, अष्ट्रेलिया, अमेरिका, बेलायत लगायत मुलुकबाट फ्रेन्चाइजको प्रस्ताव आइरहेको कुँवरले बताए ।
‘फ्रेन्चाइजका लागि हामीलाई विभिन्न मुलुकबाट प्रस्ताव आइरहेको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा जान हामी पनि इच्छुक छौं। त्यसैले गृहकार्य गरिरहेका छौं।’










